नाडा अटो शो मा विद्युतीय सवारीको रजगज, यस्तो छ दोस्रो दिनको माहोल


काठमाडौँ । मंगलबार (हिजो) देखि सुरू भएको नाडा अटो शो २०२३ मा फरक दृश्य देखिएकाे छ । वर्षेनि हुने नाडा शो मा पेट्रोलियम सवारी साधनको बढ्दो रजगज हुनेमा यसपलिको मेलामा भने विद्युतीय सवारी साधनले मेला ओगटेको दृश्य देख्न सकिन्छ । कोभिड १९ र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण झन्डै तीनवर्ष हुन नसकेको नाडा अटो यसवर्ष भने निकै तड्कभड्कका साथ आयाेजना गरिएकाे छ भने नागरिकहरूले पनि उत्सुक्ता साथ अवलोकन गरेका छन् ।

आर्थिक मन्दीले बजारलाई च्यापेको बेला नाडा अटो शो गर्नु निकै नै चुनौती रहेता पनि अटो व्यवसायीको सक्रिय सहभागिता र अवलोकन कर्ताहरूको भिडले अटो शो सफल हुने अपेक्षा रहेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।

अध्यक्ष थापा मेलामा विद्युतीय सवारीको रझगज अन्य वर्षको मेलामा भन्दा बढी नै रहेको बताउँछन् । उसो त मेलामा १०० भन्दाबढी स्टल भएपनि दुई पाङ्ग्रे र चार पाङ्ग्रेको हकमा भने विद्युतीय सवारीका ब्रान्डहरू बढी रहेका छन् ।

मेलामा चार पाङ्ग्रे साधनमा एमजी, नेटा, बीआइडी, वुलिङ, स्काई वेल र दुई पाङग्रे सवारीमा टिभिएस, बेनेली लगायतका ब्रान्डले प्रदर्शनी भरेको छन् । विगतका वर्षहरूमा पेट्रोलियम सवारीले नेपालमा आफ्ना कम्पनीहरू दरिलाे तरिकाले स्थापित गरेता पनि यस वर्षको मेलामा भने त्यस्ता कम्पनीले विद्युतीय सवारीलाई नै प्रर्दशनीमा राखेको पाइन्छ । टाटा, हुन्डाई, किया, ग्रेटवाल, निसान लगायत ब्रान्डले पेट्रोलियम र विद्युतीय दुबैथरिलाई प्रदर्शनमा राखेका छन् ।

मकाठमाडौँको कपनमा बस्ने लिला प्रसाद शर्माले आफू मेलामा पेट्रोलियम सवारी किन्रे याेजना बनाएर आएपनि मेला भ्रमण गरेपछि आफूले विद्युतीय सवारी नै किन्रे निधो गरेको बताए । “ मेलामा आउँदा पेट्रोलियम सवारी साधनको मोह बढी हुन्छ होला भन्रे लागेको थियो तर मेला भ्रमण गरेपछि सबैकाे राेजाईं विद्युतीय सवारीमा नै भएकाे पाए । त्यसैले मैले पनि विस्तारै विद्युतीय सवारी साधन किन्रे निधो गरे ।” उनले भने,”विद्युतीय सवारी साधनमा खर्च पनि कम हुने रहेछ । मैले विगत ७ वर्षदेखि पेट्रोलियम गाडी चढ्दा वार्षिक ८० देखि १ लाखसम्म खर्च हुने गरेको छ ।’’

अध्यक्ष थापा आम नागरिकको माग र चासो बढेकाले विद्युतीय सवारीहरू नै नाडामा बढी देखिएको बताउँछन् । पहिला पहिलाका मेलामा कारदेखि बाइकसम्म राख्ने गरेकोमा यसपटक नाडाले मालबालक र यात्रुबाहक विद्युतीय गाडीहरू पनि मेलामा राखेका छ । पछिल्लो समयमा पेट्रोलियम ब्रान्डमा माइक्रो बसहरूलाई टक्कर दिइरहेका साना आकारका बिजुली बस सहित कमर्सियल ईभी ट्रकहरू मेलामा राखिएका छन् ।

नाडा अटो सो–२०२३’ मा १२० वटा स्टल राखिएका छन् । १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल राखिएका छन् । ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेकाे छ । अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार अटो सोको उद्घाटन गरेका थिए ।

‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शोमा २०२३ मा लगभग ७५, हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ। यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको नाडाले जनाएको छ । मेला अवधिभर करिब २० अर्ब बराबरको कारोबार हुने नाडाले जनाएकाे छ ।