हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात सहज बनाइने


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो–एनएनएसडब्ल्यू) सम्झौता भएको छ । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) को आयात–निर्यातका लागि आवश्यक पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुने भएको छ ।

यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेब सर्भिस उपलब्ध गराई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदानप्रदान तथा प्रणाली एकीकरण गर्नेछ ।

साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, तथ्याङ्क सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउनेछ ।

त्यसैगरी, भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणालीमार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमतिसम्बन्धी विवरणका आधारमा आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउनेछ । प्रणालीको प्रभावकारी सञ्चालनका लागि दुवै निकायबीच आवश्यक प्राविधिक समन्वय र सूचना आदानप्रदानको व्यवस्था गरिनेछ ।

यस व्यवस्थाले वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ न्यूनीकरण गर्नुका साथै सरकारी सेवा प्रवाहमा पारदर्शिता र अन्तरनिकाय डिजिटल समन्वय अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

विशेषगरी हवाई सेवा सञ्चालक, विमान मर्मतसम्भार तथा उड्डयन क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आवश्यक सामग्री आयात गर्न सहज हुने र समग्र हवाई यातायात क्षेत्रको सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

सरकारी निकायका सेवा प्रक्रियालाई डिजिटल प्रविधिमा आबद्ध गर्दै सार्वजनिक सेवा प्रवाहलाई सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरूप यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।