पौने चार करोड ठगीको अभियोगमा ‘विस म्यानपावर’ विरुद्ध मुद्दा दायर


काठमाडौँ । वैदशिक रोजगार विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ‘विस एचआर सेलुसन म्यानपावर’ कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मंगलबार मुद्दा दायर गरेको छ ।

उक्त मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो ।

उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो । लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ ।

उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो ।

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । विभागका महानिर्देशक मदन दहालले रकम उठाएर उनीहरूलाई वैदेशिक रोजगारीमा नपठाएको बताए । त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा लाइसेन्स खारेज गर्नुका साथै मुद्दा समेत दायर गरिएको बताए ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम लाइसेन्स खारेज गरिएको र सोही दफा बमोजिम मुद्दा समेत दायर गरिएको विभागले जनाएको छ ।