खेतियोग्य जमिनमा सिचाईँको व्यवस्था गर्न सके खाद्यान्न निर्यात गर्न सकिन्छ :मन्त्री भुसाल


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालले नेपालको खेतियोग्य जमिनमा सिचाईँको व्यवस्था गर्दा खाद्यान्न निर्यात गर्न सक्ने बताएका छन् ।

शुक्रवार पोखरामा नेपाल कृषि मेशिनरी व्यवसायी संघको आठौँ बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै गुणस्तरीय विउबिजन र सिचाईँको व्यवस्थापन गर्न सके खाद्यान्न निर्यात गर्न सहज हुने बताएका हुन् । उनले मन्त्रालयले कृषि क्षेत्र विकासको लागि विभिन्र कार्यहरू गर्दै आएको दाबी गरे ।

भुसालले विगत दश वर्ष यता सबैभन्दा बढी मल यो वर्ष आयात भएको बताए । उनले भने, “यो बेला मल पनि प्राप्त मात्रामा छ । मलको हाहाकार भएको छैन । वितग १० वर्ष यता सबैभन्दा बढी मल आयात भएको छ । त्यो भएर हाहाकार भएको छैन । त्यसकारण हामीले सकारात्मक कुरालाई पनि प्रथामिकता दिनुपर्छ । हाम्रो समाजले नकारात्मक कुरालाई मात्रा प्रथामिकता दिदैँ आएको छ । त्यसकारण हाम्रा सम्भावनालाई खाेजेर र अघि बढ्न आवश्यक छ ।”

त्यस्तै उनले देशमा रासायनिक मलको कारखाना खोल्ने कि नखोल्ने भन्ने विषय अन्योलमा रहेको बताए । उनले विश्व बजारले अर्गानिक मलमा बहस गरेको बेला हामीले रासायनिक मलको कारखाना बनाउने विषयलाई रोक्न आवश्यक रहेको बताएका हुन् । उनले भने,”देशका कतिपय स्थानीय तहले पनि फोहोरबाट अर्गानिक मल उत्पादन गर्नको लागि विभिन्र पहल गरेका छन् । जुन आफैँमा सकारात्मक विषय हो । त्यसैले सरकारले पनि त्यै विषयमा प्रथामिकता दिनेछ ।”