प्रयोगशालादेखि भान्सासम्म पुग्दै ‘जिङ्क गहुँ–१’, किसानको आम्दानी र पोषण सुधारमा जोड


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको पोषणयुक्त ‘जिङ्क गहुँ–१’ को व्यावसायिक उत्पादन र बजारीकरण सुरु हुने भएको छ। अनुसन्धानबाट विकसित यो गहुँलाई किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म पुर्‍याउने उद्देश्यले नार्क र बिग एग्रो ग्रुप लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार नार्कले बीउ, प्राविधिक ज्ञान तथा आवश्यक परामर्श उपलब्ध गराउनेछ भने बिग एग्रोले किसानबाट उत्पादित गहुँ खरिद गरी प्रशोधन तथा बजारीकरण गर्नेछ। कम्पनीले जिङ्क गहुँ–१ बाट उत्पादित आटालाई ‘राज चक्की आटा’ ब्रान्डमा बजारमा ल्याउने जनाएको छ।

यसले अनुसन्धानबाट विकास गरिएका नयाँ जातका कृषि उत्पादनलाई किसान र बजारसँग जोड्ने प्रयासका रूपमा लिइएको छ। सम्झौताले किसानलाई उत्पादनको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई सूक्ष्म पोषक तत्वयुक्त गहुँजन्य खाद्य पदार्थ उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उत्पादन र रोग प्रतिरोधी क्षमता

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम र मेक्सिकोस्थित अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र (सिमिट) को संयुक्त प्रयासमा बायोफोर्टिफिकेसन प्रविधिबाट जिङ्क गहुँ–१ विकास गरिएको हो। तराई, भित्री मधेश तथा समुद्र सतहदेखि करिब ८०० मिटर उचाइसम्म यसको व्यावसायिक खेती गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

जिङ्क गहुँ–१ को औसत उचाइ ९५ देखि १०० सेन्टिमिटर हुन्छ। बीउ छरेको करिब १२१ दिनमा पाक्ने यो गहुँको प्रतिहेक्टर उत्पादकत्व ५.०१ टनसम्म रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको तथ्याङ्क छ। नेपालमा गहुँको राष्ट्रिय औसत उत्पादकत्व भने प्रतिहेक्टर करिब तीन टन रहेको छ।

यसको प्रतिबालामा ४७ देखि ५१ वटासम्म दाना लाग्ने र एक हजार दानाको तौल ४५ देखि ५५ ग्रामसम्म हुने बताइएको छ। दाना उत्पादनसँगै पशुपालनका लागि आवश्यक छ्वालीको उत्पादन पनि राम्रो हुने अनुसन्धानकर्ताहरूको भनाइ छ।

जिङ्क गहुँ–१ मा खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवा (स्पट ब्लोच) लगायत गहुँमा लाग्ने प्रमुख रोगप्रति प्रतिरोधात्मक क्षमता रहेको बताइएको छ। रोगको प्रकोप कम हुँदा किसानको विषादी तथा उत्पादन लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सूक्ष्म पोषक तत्वको स्रोत

नार्कका वैज्ञानिक खेमराज पन्त र रोमन कार्कीका अनुसार साधारण गहुँको तुलनामा जिङ्क गहुँ–१ मा जिङ्क र आइरनको मात्रा बढी हुन्छ। यसमा जिङ्कको मात्रा ३५ देखि ५२ पीपीएम र आइरनको मात्रा ३४ देखि ४१ पीपीएमसम्म रहेको उनीहरूले बताएका छन्।

नेपालमा सूक्ष्म पोषक तत्वको कमीलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण समस्याका रूपमा लिइन्छ। नार्कको तथ्याङ्कअनुसार नेपालमा करिब २५ प्रतिशत जनसङ्ख्यामा जिङ्कको कमी रहेको अनुमान छ। विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलामा सूक्ष्म पोषक तत्वको कमीले स्वास्थ्यमा असर पार्ने गरेको छ।

वैज्ञानिक पन्तका अनुसार जिङ्क शरीरमा सञ्चित भएर नबस्ने भएकाले दैनिक आहारबाट यसको आपूर्ति गर्नुपर्छ। वयस्क पुरुषलाई दैनिक करिब ११ मिलिग्राम र महिलालाई आठ मिलिग्राम जिङ्क आवश्यक पर्ने तथा गर्भवती र स्तनपान गराइरहेका महिलालाई यसको आवश्यकता अझ बढी हुने उनले बताएका छन्।

जिङ्कले शरीरको रोग प्रतिरोधात्मक क्षमता, बालबालिकाको शारीरिक तथा मानसिक विकास, कोशिका निर्माण तथा घाउ निको पार्ने प्रक्रियामा भूमिका खेल्छ। जिङ्कयुक्त गहुँबाट बनेका खाद्य पदार्थको नियमित सेवनले आहारमा सूक्ष्म पोषक तत्वको उपलब्धता बढाउन सहयोग पुग्ने अनुसन्धानकर्ताहरूको अपेक्षा छ।

किसानबाट खरिद, ‘राज चक्की आटा’ बजारमा

नार्क र बिग एग्रोबीचको सम्झौताले जिङ्क गहुँ–१ को उत्पादनदेखि बजारीकरणसम्मको शृङ्खला निर्माण गर्ने लक्ष्य राखेको छ। धान कटाइपछि सुरु हुने गहुँको मौसममा किसानले यसको व्यावसायिक खेती गर्नेछन्।

किसानले उत्पादन गरेको गहुँ बिग एग्रोले सिधै खेतबाट खरिद गर्नेछ। गहुँ खेती विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकार तथा स्थानीय तहबाट समेत सहजीकरण हुने बताइएको छ।

बिग एग्रोका अध्यक्ष नवराज बुर्लाकोटीका अनुसार खरिद गरिएको गहुँलाई प्रशोधन गरी ‘राज चक्की आटा’ का रूपमा बजारमा ल्याइनेछ। चक्की प्रविधिबाट उत्पादन हुने भएकाले गहुँमा रहेका प्राकृतिक फाइबर तथा पोषक तत्व संरक्षण हुने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ‘राज चक्की आटा’ मा १४.८८ प्रतिशत प्रोटिन, १३.८९ प्रतिशत ग्लुटेन, २.०३ प्रतिशत क्रुड फाइबर र १.७२ प्रतिशत फ्याट हुनेछ। प्रति १०० ग्राम आटामा ३.४९ मिलिग्राम आइरन, ५.२२ मिलिग्राम जिङ्क, ४५.७२ मिलिग्राम क्याल्सियम र १८१.०१ मिलिग्राम फस्फोरस हुने बताइएको छ। १०० ग्राम आटाबाट ३७५.७२ किलो क्यालोरी ऊर्जा प्राप्त हुने कम्पनीको विवरणमा उल्लेख छ।

कम्पनीले पोषणयुक्त भए पनि यसको मूल्य सामान्य आटाकै हाराहारीमा राख्ने जनाएको छ। त्यसो भएमा आर्थिक रूपमा कमजोर परिवारसम्म पनि पोषणयुक्त खाद्य पदार्थको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गहुँ खेतीको ३० प्रतिशत क्षेत्रमा बायोफोर्टिफाइड जातको लक्ष्य

नेपालमा धानपछिको दोस्रो प्रमुख खाद्यबालीका रूपमा गहुँलाई लिइन्छ। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार सन् १९६० देखि २०२६ सम्म नेपालमा ५८ वटा गहुँका जात सिफारिस भइसकेका छन्।

हाल देशको करिब ९४ प्रतिशत गहुँ खेती हुने क्षेत्रफलमा उन्नत जातका बीउ प्रयोग भइरहेको छ। बीउ प्रतिस्थापन दरसमेत २३ प्रतिशत पुगेको कार्यक्रमको तथ्याङ्क छ।

सन् २०२४/२५ मा भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले ४३ हजार ८२८ किलो प्रजनन् बीउ उत्पादन गरी वितरण गरिरहेको छ। त्यसमध्ये जिङ्क गहुँ–१ को मात्रा चार हजार ९४ किलो अर्थात् कुल प्रजनन् बीउको करिब ९.३ प्रतिशत रहेको छ।

निजी बीउ कम्पनीहरूको कुल उत्पादनमा समेत जिङ्क गहुँ–१ को हिस्सा करिब १४ प्रतिशत पुगिसकेको कार्यक्रमको तथ्याङ्क छ।

अब ठूला उद्योगमार्फत यसको व्यावसायिक उत्पादन र बजारीकरण विस्तार भएपछि बीउको माग बढ्ने अपेक्षा गरिएको छ। यही आधारमा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले सन् २०२७ सम्म नेपालको कुल गहुँ खेती हुने क्षेत्रफलको ३० प्रतिशतमा जिङ्क र आइरनयुक्त बायोफोर्टिफाइड गहुँ विस्तार गर्ने लक्ष्य लिएको छ।

अनुसन्धानमा विकास भएको जातलाई किसानको उत्पादन, उद्योगको प्रशोधन र उपभोक्ताको आहारसँग जोड्न सकिएमा जिङ्क गहुँ–१ नेपालको कृषि तथा पोषण सुरक्षाको क्षेत्रमा महत्वपूर्ण विकल्प बन्न सक्ने देखिन्छ।