मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, ८ घर जलेर नष्ट


मुगु । मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले जानकारी दिए । थापाका अनुसार गएराति एक घरबाट सल्किएको आगोले सँगै जोडिएको ८ घरमा पूर्णरुपमा क्षति पारेको हो ।

आगलागी भएका घरहरुमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिए।

यसअघि विसं २०७८ कात्तिक २९ गते पनि गमगढी तल्लो बजारमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।