राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको छ ।

बबरमहलमा रहेको टक्सार महाशाखामा भएको कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार १० ग्राम सिक्काको १ हजार छ सय रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ ।

दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।