नेसनल प्याव्सनमा समानान्तर गतिविधि :‘न्यौपानेको भेला र कृयाकलाप विधान विपरित र गैह्र कानूनी’


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) मा समानान्तर दुईवटा अध्यक्ष भएका छन् ।

नेपालगञ्जमा महाधिवेशनबाट चयन भएका अध्यक्ष पाण्डव हमाल छन् भने सहअध्यक्ष सुवास न्यौपानेले सहमति अनुसार भन्दै आफू अध्यक्ष भएको घोषणा गरेका छन् । हिजो आफूलाई अध्यक्ष घोषणा गर्दै न्यौपानेले पदस्थापन कार्यक्रम गरेका छन् ।

अध्यक्ष हमालले भने सहअध्यक्ष न्यौपानेको गतिविधिलाई ‘स्वघोषित अध्यक्षता विधान विपरित र गैह्र कानूनी’ भनेका छन् ।

केन्द्रीय समितिको नेपालगञ्जमा भएको सातौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष र सह–अध्यक्ष पदमा क्रमशः पाण्डव हमाल र सुवास न्यौपानेलाई चयन गरेको थियो । सोही अनुसार दुवै जनाले विधानत एक कार्यकाल (३/३ वर्षे कार्यकाल) को सपथ खाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पाण्डव हमाल, महासचिव पारसमणी दाहाल, संस्थापक अध्यक्ष गीता क्षेत्री, कोषाध्यक्ष प्रतापबहादुर थापाले विज्ञप्ति जारी गर्दै न्यौपाने समूहले असोज १३ गते गरेको गतिविधि गलत भन्दै स्वघोषित अध्यक्षता विधान विपरित र गैह्र कानूनी भएकोले नेसनल प्याब्सनका कर्तव्यनिष्ठ सबै सदस्यहरू भ्रममा नरहन हार्दिक अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“मिति २०८०/०६/१३ गते काठमाडौंको अनुपम फुडल्याण्डमा केही व्यक्तिहरूको भेला बोलाई पदभार ग्रहण गरेको नाटक मञ्चन गरिएको छ । हिजो सपथ लिने व्यक्तिले सातौँ राष्ट्रिय महाधिवेशन मै तत्कालिन प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद बहादुर कार्की ज्यू समक्ष सपथ लिई प्रमाण पत्र समेत ग्रहण गरिसकेको यथार्थ छर्लङ्गै छ । १३ गते गरिएको स्वघोषीत अध्यक्षता विधान विपरित र गैह्र कानूनी भएकोले नेसनल प्याब्सनका कर्तव्यनिष्ठ सबै सदस्यहरू भ्रममा नरहन हार्दिक अपिल गर्दछौं ।”

राष्ट्रिय महाधिवेशन भइरहेको अवस्थामा केही पूर्व अध्यक्ष लगायतका केही व्यक्तिहरूले अध्यक्ष र सह–अध्यक्ष पदमा आधा–आधा कार्यकाल गर्ने गरी सहमति गरिएको भनि व्यापक प्रचार प्रसार गर्नु गलत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।