१४ म्यानपावर कम्पनी निलम्बनमा,अन्य कम्पनीमाथि अनुसन्धान जारी

शंकास्पद कागजात पेस गरेर जापानका लागि श्रम स्वीकृति


काठमाडौं । शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको आराेपमा १४ म्यानपावर कम्पनी निलम्बनका परेका छन् ।

जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदार पठाएको उजुरी परेपछि छानबिन भइरहेको बिभागले जनाएको छ ।

विभागले आज सूचना प्रकाशित गरी १४ ओटा संस्थालाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको जनाएको हो ।

प्रारम्भिक अनुसन्धानबाट १४ वटा संस्था संलग्न भएको देखिएको भन्दै विभागले निलम्बन गरी थप अनुसन्धान गर्ने निर्णय गरेको छ । अन्य संस्थाको पनि संलग्नत हुन सक्ने भन्दै अनुसन्धान जारी राख्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक मदन दहालले टक्सार न्युजसँग भने,“१४ वटा संस्था संलग्न भएको देखिएकाले निलम्बन गरेर थप अनुन्धान गरिरहेका छाैँ । ऐन अनुसार बढीमा छ महिनासम्म निलम्बनमा राख्न सक्ने व्यवस्था छ ।”

महानिर्देशक दहाललेले अन्य केही कम्पनीकाे भूमिका समेत शंकास्पद देखिएको भन्दै अनुसन्धान जारी रहेको बताए । उनले भने,“अन्य केही कम्पनी शंकास्पद देखिएका छन् । हामी थप प्रमाण खोज्दै छाैँ । ”