सानिमा माई हाइड्रोको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । चाडपर्वको मुखमा सानिमा माई हाइड्रो सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

समितिले १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका निमित्त ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै कम्पनीले उक्त लाभांश पारित गर्न कार्तिक २३ गतेका लागि वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । साधारणसभा र बोनस प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने पनि जनाइएको छ ।

कम्पनीले आज जारी गरेको सूचनामा ५६ मेगावाटको जुमखोला हाइड्रोमा डेढ अर्बसम्म लगानी गर्ने गरि सम्झौता गरिने पनि उल्लेख गरिएको छ । यसै गरि साधारणसभामा जुमखोलाको कर्जा प्रयोजनका लागि कम्पनीले संस्थागत जमानत दिने सम्बन्धमा पनि प्रस्ताव पेश गरिने जनाइएको छ ।