नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त,पदभार ग्रहण


काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

नेपाल टेलिकमकै नायब प्रबन्ध निर्देशक रहेकी पहाडीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।

पहाडीले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभर सम्हाल्दै आएकी थिइन् ।

नेसनल पेमेन्ट गेटवे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी स्वत निलम्बनमा परेका छन् ।

प्रबन्ध निर्देशक पौडेल निलम्बनमा परेपछि पहाडीलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई गरेकी छन् ।

पहाडीले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवामा प्रवेश गरेकी थिइन् भने २०५१ फागुन १० गते स्थायी नियुक्ति लिइएकी थिइन् ।

२०७८ माघ १८ गते पहाडी प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।