दृश्य सहकारीद्वारा दुग्ध किसानलाई अनुदान वितरण


काठमाडौँ । दृश्य सहकारीले दुग्ध किसानलाई अनुदान वितरण गरेको छ ।

बागमती प्रदेश सरकारले दिएको १८ लाख २६ हजार ७ सय ६१ रुपैयाँ अनुदान १०८ जना किसानलाई वितरण गरिएको सहकारीले जनाएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश, हेटौंडा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप लिटर अनुदान कार्यक्रम अन्तर्गत उक्त रकम दृश्य बहुउद्देश्यीय सहकारीले पाएको थियो ।

आ.व.२०७८।७९ को रकम वितरण गरिएको सहकारीले जनाएको छ । राहत रकम वितरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति, सहकारी महासंघका संचालक, नेप्सकुनका पूर्व अध्यक्ष डि.बि बस्नेतले सहकारी एउटा माध्यम बनेर किसानको हितमा काम गरिरहेको बताए ।

लिटर अनुदान पाएका सबै किसानहरुलाई बधाई दिँदै अझै बढी अनुदान प्राप्त गर्ने हौसला मिलोस् भन्ने शुभकामना दिए । पशुसेवा विज्ञ केन्द्रका प्रमूख कृष्ण कार्कीले बागमती प्रदेशको यो प्रोत्साहन अनुदान किसानको लागि हौसला प्रदान गर्न र थप हरेक वर्ष दुध उत्पादन बढाएर बिक्री गर्न भएको बताए ।

उनले अनुदानको सहि सदुपयोग होस् भन्ने धारणा आफ्नो रहेको बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहाल्द दाहालले कति कमाइयो भन्नुभन्दा पनि कति बचाइयो भन्ने मुख्य विषय भएको बताए ।

उनले भने,“ आर्थिक अनुशासन भएन भने हामीले अरु जे नै राम्रो गरे पनि त्यसको कुनै महत्व हुँदैन ।”

दाहालले अनुदान पाउने सबै किसानहरूलाई बधाई दिदै आगामी दिनमा अरु थप प्रोत्साहन प्राप्त गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।