इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि


काठमाडौँ । हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ ।

आक्रमणमा परेका अन्य ६ जना घाइते छन् । कन्चनपुरका बिपिन जोशी भने सम्पर्कविहीन छन् । उनीसँग सम्पर्क हुन नसकेको दुतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेका हुन ।