इजरायलबाट नेपाली फिर्ता गर्न नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरिने


काठमाडौँ । सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो ।

बैठकले इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने र स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने समेत निर्णय भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने ।

नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषदको छ ।

इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने सरकारले निर्णय गरेको छ ।