कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै कुमारी बैंक


काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले कात्तिक २ गतेदेखि १० प्रतिशत व्याजदरमा १० वर्षे अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण ५ लाख कित्ताकाका लागि आवेदन दिन सक्नेछन्।
उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयरप्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले उक्र ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।