नेपालकाे इन्टरनेट एशियाकाे दाेस्राे सस्ताेमा पर्छः निमित्त प्रबन्ध निर्देशक पहाडी


काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताएकी छन् ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित्त प्रबन्ध निर्देशक अर्यालले यस्तो बताएकी हुन् । उनले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताइन् ।

उनले सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गरिन् । उनले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सन्र्दभिक नभएको जिकिर गरिन् । उनले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दूरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताइन् ।

निमित्त प्रबन्ध निर्देशक अर्यालले २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/८९ मा आउँदा १९.६९ पैसा रहेको बताइन् । उनले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गरिन् ।

उनले २०७३ सालमा ७४ पैसा रहेकाेमा अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताइन् ।

निमित्त प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि बक्यौता रकम तिर्न बाँकी नरहेको बताइन् । उनले जिएसएम मोबाइल लाइसेन्सको २०८१ वैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार बक्यौता रकम बुझाउने बताइन् ।

अर्यालले दूरसञ्चार सेवा शुल्क बढाउने भन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताइन्।

निमित्त प्रबन्ध निर्देशक अर्यालले टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको बताइन् । उनले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै रहेको भन्दै अहिले बढेर ४० बढी पुगेको र टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताइन् ।