युवालाई अभिभावक पुज्न प्रेरित गर्ने पुस्तक ‘जीवन्त सम्बन्ध’


पुस्तकले जीवनका बारेमा बुझन र गहिरिएर यसको अनुभव गर्न अध्यात्मसँगको लगाव जरुरी रहेको पुष्टि पारेको छ । मानिसको करिअर, पेसा, पढाइ वा सफलता जीवनको एक पाटो मात्रा हो र समष्टिमा जीवनलाई सार्थक बनाउन अध्यात्मिक चेतना जरुरी रहेको प्रष्ट पारेको छ । 

‘बाबा’ यस्तो आदरार्थी शब्द हो, जसको उच्चाहरण गर्दा पनि हाम्रो हृदय पग्लिन्छ । बाबा, जो परिवारको मियो हो । जसको सेरोफेरोमा परिवार घुम्छ । युवाहरू उमेर बढेसँगै आफ्ना अभिभावकसँग टाढिने गरेको यथार्थता हाम्रो समाजमा पनि व्याप्त छ । त्यसैले पनि युवाहरूले त झनै यो पुस्तक पढ्न पर्ने देखिन्छ । बाबाप्रति परिवारको जति प्रेम हुन्छ, उत्तिनै अपेक्षा पनि । कुनै कुरामा खुसी भइयो भने त्यो बाबालाई नै सुनाउन मन लाग्छ । 

कुनै कुरामा चित्त बुझेन भने, त्यो कुरामा बाबालाई नै घुर्काउन मन लाग्छ । तपाईँको मनमा बाबा शब्द उच्चारण गर्दा जाग्ने यस्ता विचार वा भावना जाग्छ नै होला। तपाईंको विचारमा बाबाप्रतिको सम्मान र माया के कारणले ह्वात्तै बढ्न सक्ला ? अरू कारणले व्यक्तिको व्याहार पिच्छे फरक फरक हुन सक्छन् । तर तपाईँ डा.ओम मूर्तिद्धारा लिखित ‘जीवन्त सम्बन्ध’ पूरै पढ्नु भयो भने बुवा प्रतिको आदर, सम्मान र प्रेमभाव तपाईँले थाहा नै नपाइकिन दर्जनौँ गुणा बढेर गएको पत्तै पाउनुहुन् । 

केही समय अघि बजारमा जोडसँग प्रचार प्रसार भएको उक्त पुस्तक सुरूमा मलाई त्यति वास्ता लागेन तर विस्तारै पुस्तकको चर्चा बढ्दै जादाँ उक्त पुस्तक नपढि बस्न पनि सकिन् । जसले गर्दा आज मेरो बासँग थप माया, स्नेह र मेरा अन्य अभिभावकलाई गर्ने संस्कारमा भिन्नता ल्याएको महसुस गरेको छु । जीवन्त सम्बन्धले मलाई यो उमेरमा आएर धेरै कुरा सिकाएको छ । पुस्तकले मलाई सन्तानप्रति अभिभावकले कति धेरै विश्वास गर्छ भन्ने बुझाएको छ । यसले गर्दा अबका आउँदा दिनमा मलाई पक्कै पनि नराम्रो बाटो तर्फ जान दिने छैन ।  

एक किसिमले भन्नुपर्दा ओम मूर्तिले मलाई मेरो दुरीले टाढा भएका बासँग नजिक भएको महसुस गराएका छन् । जीवनमा सम्बन्ध जोगाउन र जीवनलाई कसरी सहज तरिकारले बाँच्ने भन्ने विषयको मार्गदर्शन नै बनेका छन् । ओम मूर्तिले लेखेको ‘जीवन्त सम्बन्ध’ पुस्तकले शब्द शब्दमा नयाँ ज्ञान दिएको छ । डा. ओम मूर्तिलाई धेरै धन्यावाद त यहाँ निर दिन चाहान्छु कि आज जीवन्त सम्बन्धले मेरो आफ्नो बालाई पनि सूक्ष्म भएर बुझ्ने  मौका दिएको छ । आध्यात्मिक चेतना, नैतिक शिक्षाको गहिरो प्रभाव र प्रयोगले उक्त पुस्तकलाई थप आर्काषित बनाएको छ । 

पुस्तकमा ओम मूर्ति आफू सानो छदाँ नै बुबाले सिकाएको एक एक उपदेशको उल्लेख गरेका छन् । जस्तो कि भगवत् गीता, रामायण, महाभारत आदि धामिर्क, दार्शनिक श्लोक र भावको प्रसंगहरू पुस्तकको बिचमा निकै उत्कृष्ट तरिकाले जोडेका छन् जसले गर्दा यस पुस्तकलाई सुनमा सुगन्ध  बनाएको छ । योसँगै यसबाट सजिल्लो तरिकाले यो बुझन सकिन्छ कि आमाबुबाको क्रियाकलाप र व्यवहारले बच्चा र उनीहरूबिचको भावनात्मक संग्लनतामा महत्तवपूर्ण भूमिका खेलेको हुन्छ ।  आमाबुबाले बच्चासँग गुणस्तरीय सयम बिताए, खुल्ला संचार गरेर परिवारिक भेटघाट, विवाह सम्बन्ध निर्माण गर्न सहयोग गर्छ भन्ने पुस्तकले खुलाएको छ । 

यो पुस्तक पढ्दा एक आविभावकले बालबालिकालाई सानै उमेरदेखि कस्तो शिक्षा दिने, कस्तो व्यवहार सिकाउने आदि कुराको बारेमा धेरै उदाहरण र घटनामार्फत देखाइएको छ । आफ्नो बच्चालाई कस्तो संस्कार सिकाउनु पर्छ भन्ने कुरालाई आत्मबोध गराउँछ । पुस्तकमा बुहारीको सासू–ससुरासँगको सम्बन्धलाई पनि उद्धृत गरिएको छ । समाजमा बुहारीलाई छोरीभन्दा फरक मानेर या धेरै आशा राख्दा सम्बन्ध बिग्रेको हामी पाउँछौँ ।

यो पुस्तक पढ्दा बुहारी र सासू–ससुराले आफ्नो सोचाइमा परिवर्तन ल्याउने सक्नेछन् । यसले अरूबाट धेरै आशा नगर्ने बरु आफूले पनि केही दिने सोचको विकास गराउन मद्दत गर्नुका साथै समाजका कमजोरी र परिवारमा घट्ने घटनालाई पनि पुस्तकले उजागर गरिदिएको छ । मानिसको जीवनमा सुख र दुःख कसरी आउँछ ? किन आउँछ ? कसरी सामना गर्न सकिन्छ ? अनि राम्ररी सामना गरे कस्तो परिणाम आउँछ भन्ने कुरा बडो रोचक ढङ्गबाट वर्णन गरिएको छ । विशेषगरि पुस्तकले अभिभावकले एउटा सन्तान जन्माएर हुर्काउने बेलासम्म गरेको त्यागको बारेमा चित्रण गरेको छ । 

पुस्तकमा विभिन्न कालजयी गीत र विभिन्न विद्वानका मर्मस्पर्शी भनाइहरूको प्रसंग जोडेर लेखकले शिक्षासँगै मिठास पनि दिएका छन् । लेखक स्वयं डाक्टर भएको कारण स्वास्थ्य सम्बन्धी ज्ञानका कुरा पनि यस पुस्तकमा पढ्न पाइन्छ । निस्वार्थ प्रेमलाई खुलेर चित्रण गरिएका छ ।

जब लेखक आफ्नो बिरामी बुवालाई भेट्न आमालाई लिएर अस्पताल जान्छन् तब साँचो प्रेमको अर्थ के हो ? भन्ने प्रश्नले लेखकको मस्तिष्कलाई उद्धेलित बनाएको छ । साँचो प्रेम भनेको एक अर्काप्रतिको त्याग, कठिन समयमा एक अर्कोलाई दिने साथ, समर्पणको भाव र मृत्युले समेत प्रभावित नहुने सम्बन्ध हो भनेर पुस्तकमा चित्रण गरेको छ । पक्कै पनि हो प्रेम त्यस्तो पवित्र उपहार हो जसलाई न उमेर वा बैँसले रोक्छ, न शारिरिक सुन्दरता वा कुनै परस्थितिले प्रभावित गर्छ । 

जस्तोसुकै आँधीबेहरीले पनि प्रभावित गर्न नसक्ने पवित्र सम्बन्ध पति पत्नी बिचको हुन्छ र हुनुपर्दछ भन्ने कुरा पुस्तकले देखाएको छ । एकअर्कोको कमजोरीलाई स्वीकार गर्दै र एकअर्कालाई साथ दिँदै जीवनको स्थललाई अगाडि बढाएमा मात्रै दाम्पत्य सम्बन्ध प्रगाढ हुन्छ भन्ने बुझिन्छ । उसो त जीवनमा गाँसिएका सबै सम्बन्ध अन्तिम दिनसम्म सफल नहुन पनि सक्छन् । तर पति पत्नीको सम्बन्ध प्रगाढ प्रेम, अटल, विश्वास, एवम् अनन्त समर्पणमा अडिएको हुदाँ अधिकांश सम्बन्ध मृत्युपर्यन्त अटल हुन्छ भन्ने पुस्तकले गतिलो शिक्षा दिएको छ । 

पुस्तकले जीवनका बारेमा बुझन र गहिरिएर यसको अनुभव गर्न अध्यात्मसँगको लगाव जरुरी रहेको पुष्टि पारेको छ । मानिसको करिअर, पेसा, पढाइ वा सफलता जीवनको एक पाटो मात्रा हो र समष्टिमा जीवनलाई सार्थक बनाउन अध्यात्मिक चेतना जरुरी रहेको प्रष्ट पारेको छ । 

जीवनमा पूर्वाद्र्धमा पर्याप्त समय नदिँदा आमाबुवा र बच्चाबिच बलियो सम्बन्ध बनाउन गाह्रो हुन सक्छ । अपर्याप्त कुराकानीले परिवारका सदस्यहरूबिच सम्बन्ध, जीवन, समाज, संस्कृति र स्थितिजस्ता महत्तवपूर्ण विषयमा छलफल गर्ने अवसर सिमित हुनसक्छ भन्ने बुझाएको छ  । सन्तानको बेवास्ताले उनीहरूसँगको सम्बन्धमा फरक ल्याउँछ । आफूले अरूलाई गर्ने व्यवहारले पनि बच्चाको मस्तिष्कमा असर पर्छ भनेर पुस्तकले देखाएको छ ।  अभाव र अफ्ठयाराले बालबालिकालाई मानिसक रूपमा बलियो बनाँउछ तर विलासिता र सुविधायुक्त जीवनले उनीहरूलाई कमजोर बनाउँछ भन्ने कुरा थार्थथ तरिकाले लेखकले उजागर गरेको छन् ।  

पुस्तकले सन्तान जन्मिएर हुर्काउँदा आमाबुवाले गरेको योगदानबारे विस्तृत रूपमा उल्लेख समेत गरेको छ । समग्रमा छोराबाट कुनै शब्द वा बचनले बुबाआमाको भावनामा ठेस पुग्ने कार्य कदापिव नगर्नको लागि पाठकलाई सचेत समेत गरेको छ । बालबालिका लामो समयसँगै बस्दा संगतबाट प्राप्त साझा अनुभव, विश्वास मूल्य मान्यता एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन जरुरी रहेको समेत पुस्तकमा उल्लेख गरिएको छ । 

आमाबुबाको मिहिनेत, त्याग र समर्पणलाई आत्मसात् गरेर उनीहरूले हुर्काउदा नखाई, नलगाई छोराछोरीका लागि साँचेर राखेको, आफूले पूरानो लुगामा टारेर चाडपर्वमा छोराछोरीलाई नयाँ लुगा किनिदिएको देख्दै आएका सन्तानले भविष्यमा आमबुबाको भौतिक सुखबारेमा सोच्न आवश्यक रहेको पुस्तकमा विस्तृत रूपमा बुझाइएको छ । 

अन्त्यमा लेखक ओम मूतिले आफ्नो जन्म दिने बुवालाई सम्झेर लेखेको उक्त पुस्तकमा हरेक शब्द शब्दको वजन रहेको छ । यदि ओम मूर्ति जस्तो सन्तान हरेक बुबा आमाले कोखबाट जन्मिए कुनैपनि वृद्धा बा आमा आज वृद्धा आश्रममा बस्नपर्ने बाध्यता हुने थिएन भन्न शंकोच मान्नु पर्दैन । माता राजकुमारी देवी र पिता स्व तेजनारायण सिहंको कान्छो छोरा ओम मूर्ति अनिलको जन्म महोत्तरी जिल्लाको धमौरा गाउँमा वि. सं. २०३५ सालमा भएको थियो । ४५ वर्षको उमेरमा ओम मूर्तिले लेखेको यस पुस्तकले उनकै जन्मको पनि सार्थकता झल्काउँछ । 

पुस्तकप्रति सामाजिक सञ्जालमा आएका प्रशंसाका शब्दहरू यसै आएका हैनन् । यो पुस्तक र लेखकलाई जति प्रशंसा गरे पनि कम हुन्छ जस्तो महसुस पुस्तक पढिसक्दा महसुस गरिन्छ । सरसर्ती बगेको भाषा, मिलेका उदाहरण र प्रसङ्ग तथा तिनका मानिसको जीवनसँगको सामिप्यता पुस्तकले गजबले केलाएको छ । ‘जीवन्त सम्बन्ध’ बाट सबै उमेर समूहले उत्तिकै लाभ लिन सक्छन् । समग्रमा युवाले युवाहरूलाई पनि आफ्नो अभिभावकलाई पुज्न प्रेरित गर्ने सन्देश पुस्तकमा छ । 

जीवनमा अभिभावकको महत्व कति छ भन्ने महत्व दर्शाउन र पारिवारिक सम्बन्ध मजबुद बनाउन पुस्तकले सघाउँछ । दशैं, तिहार, छठ लगायतका नेपालीका ठूला चाडबाडको पूर्वसन्ध्यामा पुस्तक पढ्ने मौका पाइयो । यो वर्षको दशैंमा घर जाँदा मेरा अभिभावकप्रतिको सम्मान, माया र आत्मीयता अझै फरक र खारिएको हुने विश्वास लिएको छु ।

सबैमा चाडबाडको शुभकामनासँगै यो पुस्तक पढ्न सिफारिस गरें । धन्यवाद डा. ओममूर्ति, तपाईँले यो कालजयी पुस्तक लेखेर नेपाली समाजलाई उच्च योगदान गर्नुभएको छ । 

(स्नातक अध्ययनरत लेखक थापा टक्सार मिडिया ग्रुपका संवाददाता हुन् ।)