मूल्यवृद्धिदर उच्च भएको राष्ट्र बैंकको स्वीकार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि आकासिएको बताएको छ । चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो दुई महिनाको आर्थिक समीक्षा जारी गर्दै केन्द्रीय बैंकले मूल्यवृद्धि दर ८.१९ प्रतिशत पुगेको बताएको हो ।

यद्यपि यो मूल्यवृद्धिदर अघिल्लो वर्षको भदौ महिना भन्दा केही कम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको भदौमा मूल्यवृद्धिदर ८.६४ प्रतिशत रहेको थियो । नेपालमा उपभोक्ता मुद्रास्फीति दरका आधारमा मूल्यवृद्धि निकालिन्छ ।

के–केमा उच्च मूल्यवृद्धि ?

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मरमसलाको मूल्य सबैभन्दा धेरै अनुपातले बढेको छ । भदौंमा मरमसलाको बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशतले बढेको हो ।

यस्तै, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशतले, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ ।

भदौंमा हिमाली क्षेत्रमा सबैभन्दा अधिक ११.३२ प्रतिशतले मूल्यवृद्धि दर बढेको छ भने काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ ।