बेहाल स्वास्थ्य बिमा बोर्ड : अध्यक्ष छैनन,पाँच बोर्ड सदस्यको राजीनामा,कार्यकारी निर्देशक निलम्बनमा


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अनावश्यक हस्तक्षेप गरेको भन्दै स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार उनीहरूले बोर्डको कार्यालयमार्फत मन्त्री बस्नेतलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पनि असोज २४ गते मात्रै निलम्बन गरेको थियो ।

बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले गत माघ २५ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ । अझै अध्यक्ष नियुक्त नहुनु, पाँच सदस्यको राजीनामा र कार्यकारी निर्देशक बसौला निलम्बन पछि बोर्ड अस्तव्यस्त भएको छ ।

राजीनामा दिनेहरूमा बोर्डका मनोनीत सदस्यहरू डा. तारा शाह, डा. सुरेश तिवारी, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई छन् । राजीनामा दिएका मध्य एक बोर्ड सदस्य चन्द्र थापाले भने,“मन्त्री ज्यूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर बोर्डलाई हस्तक्षेप गर्न थालेपछि हामीले राजीनामा दिएका हौँ ।”

करिब एक महिनाअघि मन्त्री बस्नेतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी प्रमुख दामोदर बसौलालाई स्वास्थ्य बीमा बोर्डको ऐनविपरित स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीको स्पष्टिकरण विवादित भएपछि फेरी मन्त्रीपरिषद्मा प्रस्ताव लगेर असोज २४ गतेको मन्त्रिपरिषद् बैठक मार्फत कार्यकारी प्रमुख बसौलालाई तीन महिनाका लागि निलम्बन गरी एक साताभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

मन्त्री बस्नेतले सोमबार मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

पाँच जना सदस्यले सामूहिक राजीनामा दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुई जना मात्र सदस्य छन्।  अर्थ मन्त्रालयका प्रतिनिधि लगातार तीन बैठकमा नआएपछि स्वास्थ्य बीमा ऐन अनुसार पद खाली छ ।

थापाले बोर्डलाई सिध्याउने गरी गतिविधि भएको आरोप लगाए । उनले भने,“स्वास्थ्य मन्त्रालयले बोर्डलाई जहिले पनि गलत ढंगले बुझ्ने काम गर्‍यो । जनतासँग जोडिएको यति महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको समेत ध्यान गएको देखिएन । बाेर्ड मन्त्रालयको कुनै महाशाखाका होइन यो स्वायत्त निकाय हो भन्ने कसैले बुझेन ।”

बोर्डका निलम्बित कार्यकारी निर्देशक बसौला आफूलाई सफाइको मौका समेत नदिएर निलम्बन गरिएको भन्दै अदालत जाने तयारी गरेका छन् ।

उनले भने,“मलाई कुनै स्पष्टिकरणको मौका नदिइ निलम्बन गरियो, ममाथि अन्याय भएको छ, अदालतको ढोका ढकढकाउनु बाहेक अर्को बिकल्प छैन ।”