लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीमा जाने विवाहितको संख्या बढी


काठमाडौँ । लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीमा जाने विवाहितको संख्या रहेको छ ।

नेपाल राष्ट्र बैंकको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा समाजिक क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन–२०८०’ अनुसार वैदेशिक रोजगारीमा जाने विवाहितको प्रतिशत ८५.९० रहेको छ ।

अविवाहितको हिस्सा भने १४.१० प्रतिशत मात्रै रहेको छ । राष्ट्र बैंकले गरेको स्थलगत सर्वेक्षणमा समावेश गरिएका मध्ये संयुक्त परिवारमा रहेर वैदेशिक रोजगारीमा जानेको हिस्सा ६२.१४ प्रतिशत र एकल परिवारमा रहेर वैदेशिक रोजगारीमा जानेको हिस्सा ३७.८६ प्रतिशत देखिएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार विभिन्न आर्थिक, सामाजिक, साँस्कृतिक एवम् पारिवारिक कारणहरुले गर्दा संयुक्त परिवारमा बस्ने व्यक्तिहरूको सङ्ख्या वैदेशिक रोजगारीमा जाने धेरै छ ।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरु मध्येसबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइन दुबैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीमा गएको देखिएको छ । त्यसैगरी अन्य गन्तव्य मुलुकहरु कतार, साउदी अरब, अन्य (जापान, अस्ट्रेलिया आदि), मलेसिया, कुवेत, दक्षिण कोरिया, अमेरिका र युरोपमा क्रमशः २१.१५ प्रतिशत, १८.८० प्रतिशत, ११.४९ प्रतिशत, ९.४० प्रतिशत, ३.१३ प्रतिशत, २.३५ प्रतिशत, २.६१ प्रतिशत र ३.१३ प्रतिशत रहेका छन् ।

स्थलगत सर्वेक्षण अनुसार वैदेशिक रोजगारीमा गएकाहरूमध्ये ५ वर्षभन्दा कम अवधि वैदेशिक रोजगारीमा रहेका ३६.८२ प्रतिशत, ५ देखि १० वर्ष ३१.५९ प्रतिशत र १० वर्षभन्दा बढी अवधि भएका ३१.५९ प्रतिशत रहेका छन् ।

कमजोर आर्थिक अवस्था तथा रोजगारीको अवसर न्यून हुनुका कारण अधिकांश व्यक्तिहरु लामो समयसम्म वैदेशिक रोजगारीमा रहेको पाइएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।