काठमाडौँ । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासङ्घबिच महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो साझेदारी महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा रहेको बैंकले जनाएको छ । साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।
यस सहकार्यले महिला नेतृत्वका उद्यमहरूले सामना गरिरहेका वित्तीय चुनौतीलाई सम्बोधन गर्दै उनीहरूको वृद्धि तथा उत्थानशीलता अभिवृद्धि गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रहरू लगायतका नवीन वित्तीय उपायहरूको सम्भावनासमेत खोजी गर्ने बैंकले जनाएको छ ।
कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले उक्त साझेदारीले समावेशी तथा दिगो वित्त प्रवर्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।
उनले महिला उद्यमी महासङ्घ नेपालको सशक्त सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ्ग क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य रहेको उल्लेख गरे । साथै, आर्थिक अवसरमा लैङ्गिक समानता प्रवर्धन गर्दै थप उत्थानशील, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ यो सहकार्य अघि बढाइएको उनको भनाइ थियो ।
यस सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रहरू समेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई यस पहलका प्रमुख क्षेत्रका रूपमा अघि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्