धार्मिकस्थल भ्रमण गर्दा प्रति पर्यटक औषत खर्च १६ हजार ५६७ रुपैयाँ


काठमाडौँ । धार्मिकस्थल भ्रमण गर्दा प्रति पर्यटक औषत खर्च १६ हजार ५६७ रुपैयाँ रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्ययन प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी प्रति पर्यटक औषत खर्च १६ हजार ५६७ रुपैयाँ देखिएको उल्लेख गरेको छ ।

सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये सबैभन्दा बढी ४६ प्रतिशत यातायात खर्च, होटलमा खान तथा बस्न र पूजा सामाग्री, उपहार खर्चका लागि क्रमशः २६ प्रतिशत, १६ प्रतिशत, ६ खर्च भएको देखिएको छ भने अन्य खर्च ६ प्रतिशत रहेको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा रहेका ९ ओटा धार्मिकस्थलमा हुने धार्मिक पर्यटकीय गतिविधिको बारेमा अध्ययन गरेको थियो । राष्ट्र बैंकका अनुसार त्रिपुरासुन्दरी मन्दिर, मेलौली भगवती, खप्तड क्षेत्र, परशुराम धाम, उग्रतारा, सिद्धनाथ, मालिकार्जुन, शैलेश्वरी र बेहडाबाबा मन्दिरको अध्ययन गरेको हो ।

धार्मिकस्थलको भ्रमण गर्ने ४६.६७ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २१.११ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको पाइएको छ ।
भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी रहेको छ । यो उमेर समुहका ३६.६७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ५६ देखि ६५ र ६६ देखि ७६ वर्ष भन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४.४४ प्रतिशत रहेको छ ।

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि २.६ दिन रहेको पाइएको छ । राष्ट्र बैंकका अनुसार सर्वेक्षणमा सहभागी ६६.६७ प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पुरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ ।