राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबिच तथ्याङ्क र सूचना आदानप्रदानसम्बन्धी समझदारी


काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बिच अध्ययन÷अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ ।

गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा बैंकमा आयोजित कार्यक्रमका बिच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्पmबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।

साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ ।

महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन÷विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिने उल्लेख गरिएको छ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ ।

त्यसरी उपलब्ध गराइएको तथ्याङ्क र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन÷अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग÷व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क र सूचनाको उपयोगमा भने बाधा नपर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसै गरी, महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।