भूकम्पबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते


काठमाडौँ । जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो साढे ३ बजेसम्म जाजरकोटमा ८१ जना घाइते रहेका छन् भने रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । कूल घाइतेको संख्या १६६ रहेको प्रहरीले जानकारी दिएको छ ।

थप उपचार आवश्यक सात जना घाइतेलाई थप उपचारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुलाई त्रि.वि. शिक्षण अस्पतालमा लगिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ८५९ जना प्रहरी परिचालन गरिएको छ ।