चितवनको भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु. १ करोड सहयोग गर्ने


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको ८७ औँ कार्यपालिका बैठकले रुकुम (पश्चिम) र जाजरकोटका भूकम्प प्रभावितलाई सहयाेग उपलब्ध गराउने निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए ।

१ महिनाको पारिश्रमिक तथा सुविधा, महानगरमा कार्यरत अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरका कर्मचारीको ३ दिनको तलब, महानगरमा कार्यरत शिक्षकहरूमा मा.वि शिक्षकको ३ दिनको र आधारभूत तहका शिक्षकको २ दिनको तलब सहित महानगरले थप आन्तरिक स्रोतबाट व्यहोर्ने गरी रु १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

थप अन्य सहायताका लागि छिट्टै नै सहायता सामाग्री सहित १ टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।