आगामी प्रदेश सभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ-कुलमान घिसिङ


काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन् । 

बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उनले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताएका हुन् ।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमतीमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गरे ।

उनले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने प्रमुख लक्ष्य रहेको बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको पनि स्पष्ट पारे । आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास, सुशासन र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको उनले बताए ।

देशको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष घिसिङले मध्यमार्गी राजनीतिक बाटोबाट उज्यालो नेपाल अघि बढ्ने उद्घोष गरे ।

उनले भने, “उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनेभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । हाम्रो आर्थिक रूपान्तरणको मुख्य आधार हरित क्रान्ति हो । वागमती प्रदेशबाट शुरु गर्दै देशका सबै क्षेत्रमा सुशासन, विकास र आर्थिक समृद्धिको एजेन्डा लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो। प्रदेशदेखि संघसम्म नेतृत्वदायी भुमिका निर्वाह गर्दै देशलाई आर्थिक रूपमा रूपान्तरण गर्ने हाम्रो संकल्प छ ।”

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिव ६ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरे । जेन–जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यसअनुसार अघि बढ्न नसकेको उनको धारणा थियो ।

यद्यपि सरकारलाई अहिल्यै नै पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए । सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उनको टिप्पणी थियो । सरकारमा सहभागी युवा वर्गमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको घिसिङले बताए । 

अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । उनले रास्वपासँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत निर्णय भएको निष्कर्षमा पुगेको बताए । एकीकरण प्रक्रियामा अघि बढेपछि आफूहरूले त्यसपछाडि ठूलो षड्यन्त्र रहेको बुझेको उनको दाबी छ ।

एकीकरण प्रक्रिया टुट्नुको कारणबारे रास्वपा नेतृत्वले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगरेको उनले बताए । एकीकरणका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचारसमेत गलत रहेको उनको दाबी थियो ।

शुरुमा सहमति जनाएर पछि एकतर्फी रूपमा सहमति भङ्ग गर्नु राजनीतिक रूपमा गलत भएको भन्दै अध्यक्ष घिसिङले त्यसलाई ‘राजनीतिक अपराध’को संज्ञा दिए । 

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तिब्रता दिइरहेको जानकारी दिए । उनले स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको बताए ।