नेपाल टेलिकमको नाफामा गिरावट


काठमाडौँ । नेपाल टेलिकमको नाफामा गिरावट देखिएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि अर्थात असोजसम्मको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको थियो । गत आर्थिक वर्ष सोही अवधिमा खुद मुनाफा २ अर्ब २२ करोड ५५ लाख ६ हजार रहेको छ ।

यो वर्षको पहिलो तिन महिनामा नेपाल टेलिकमको मुनाफा १९ करोड ८० लाख ७४ हजार अर्थात ८.९० प्रतिशतले कमी आएको छ ।

टेलिकमको कुल आयमा कमी आउँदा त्यसको प्रभाव मुनाफामा परेको देखिएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कूल आय ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आयत ३९ करोड १२ लाख ९७ हजार अर्थात् ३.५४ प्रतिशतले कमी भएको छ । सञ्चालन खर्चमा भने केही सुधार भएको छ ।

कुल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष सोही समयमा सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

सञ्चालन आए गतवर्षको पहिलो त्रैमासिक अवधिमा ४९ करोड २५ लाख २१ हजार अर्थात, ५.४३ प्रतिशतले कमी भएको छ । .

कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४५.०५ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको वित्तीय विवरण अनुसार नेपाल टेलिकमले गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका विभिन्न कारण औँल्याएको छ ।

टेलिकमले ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब ४९ करोड १४ लाख ८५ हजार रुपैयाँले कमी भएको जनाएको छ ।

आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी भएको समेत वित्तीय विवरणमा उल्लेख छ । प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ ।

बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १४ करोड ८१ लाख रुपैयाँले कमी भएको वित्तीय विवरणमा उल्लेख छ ।