राष्ट्र बैंकको नाफा ४१ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो नाफा आर्थिक वर्ष २०७८/७९ को भन्दा ४१।३४ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकले ६१ अर्ब ९८ करोड ७ लाख १२ हजार ६२३ रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्र बैंकले आफूसँग रहेको रकम विभिन्न उपकरणमा लगानी गरि नाफा आर्जन गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक सुचना अधिकारी डा. भागवत आचार्यले ट्रजरी बिल र मुद्धती निक्षेपमा राखेर पनि राष्ट्र बैंकले आम्दानी गरिरहेको बताए ।

उनले विदेशी बैंकमा खाता खोलेर पैसा राखेर त्यसबाट ब्याज आम्दानी गरिरहेको बताए । विभिन्न देशको बैंकमा पैसा राखेर ब्याज आम्दानी पहिलो आम्दानी रहेको उनले बताए ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ४८ अर्ब ३६ करोड ६० लाख ८२ हजार ८६४ रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ भने १ अर्ब १४ करोड २२ लाख २४ हजार ९२६ रुपैयाँ दायित्व भुक्तानी गरेको छ ।

राष्ट्र बैंकले ४७ अर्ब २२ करोड ३८ लाख २७ हजार ९३८ रुपैयाँ खुद वैदेशिक मुद्रा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५३।४० प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६३ करोड ५८ लाख ६६ हजार १४६ रुपैयाँ खुद वैदेशिक मुद्रा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार ५०३ रुपैयाँ खुद सञ्चालन आय रहेको छ । खुद सञ्चालन खर्च ६ अर्ब ४४ करोड ४७ लाख ३१ हजार ९२२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो खर्च ७ अर्ब ४५ करोड १३ लाख ७८ हजार ७८६ रुपैयाँ रहेको थियो ।