गत वर्षको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमात्र, यो वर्ष ३.५ प्रतिशत रहने आईएमएफको भनाइ


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा खुम्चिएको उल्लेख गरेको छ । यो सरकारको आधिकारिक तथ्यांकीय निकाय, राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाखमा जारी गरेको प्रारम्भिक अनुमान २.१६ प्रतिशतभन्दा कम हो ।

नेपालका लागि चार वर्षे विस्तारित ऋण सुविधा (इसीएफ) अन्तर्गत तेस्रो समीक्षाका क्रमा मुद्राकोषले जारी गरेको विवरणअनुसार ऋणको अत्यधिक प्रवाह (क्रेडिट बुम) को असरले आर्थिक वृद्धिदर खुम्चिएको हो । यद्यपि, इसीएफकै अर्को समीक्षामा भने मुद्रा कोषले आयातमा गरिएको कडाइले आर्थिक वृद्धिमा असर पारेको उल्लेख गरेको थियो ।

गत वर्ष खुम्चिएको आर्थिक वृद्धिदर यो वर्ष भने ३.५ प्रतिशतले पुनर्बहाली हुने कोषले प्रक्षेपण गरेको छ । आईएमएले राष्ट्रिय तथ्यांक कार्यालयले आफ्नो राष्ट्रिय लेखा विवरणहरू तयार पार्ने क्रममा गत वैशाखमा आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.२ प्रतिशतबाट ४.८ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ को वृद्धिदरलाई ५.३ प्रतिशतबाट ५.६ प्रतिशत कायम गरेको समेत उल्लेख गरेको छ ।

उसका अनुसार नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६४ अर्ब रुपैयाँ बराबर पुगेको छ भने चालू वर्ष ५९ खर्ब ५७ अर्ब रुपैयाँ बराबर पुग्ने प्रक्षेपण छ ।

राष्ट्रिय ऋण जीडीपीको ४८ प्रतिशत पुग्ने

मुद्रा कोषले यो वर्ष नेपालको राष्ट्रिय ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपालले ऋण लिने क्रम बढेसँगै जीडीपीमा ऋणको भार बढेको हो ।

मुद्रा कोषका अनुसार चालू वर्षमा नेपाल भित्रने रेमिट्यान्स बढेर ९ अर्ब ९६ करोड ७० लाख अमेरिकी डलर बराबर पुग्नेछ, औसत विनिमयदर १३३ रुपैयाँ राख्दा यो वर्ष १३ खर्ब २५ अर्ब रुपैयाँ पुग्ने कोषको प्रक्षेपण देखिन्छ ।

थप करिब ७ अर्ब रुपैयाँ ऋण स्वीकृत

मुद्रा कोषको कार्यकारी बोर्डले नेपालका लागि चार वर्षे विस्तारित ऋण सुविधा (इसीएफ) अन्तर्गत तेस्रो समीक्षा पारित गर्दै ५ करोड २५ लाख ५० हजार अमेरिकी डलर बराबर ३ करोड ९२ लाख एसडीआर (६ अर्ब ९४ करोड ९२ लाख रुपैयाँबराबर)को किस्ता स्वीकृत गरेकाे छ ।

योसहित नेपालले मुद्रा कोषबाट इसीएफबाट लिएको ऋण २२ करोड २५ लाख( करिब २९ अर्ब ५९ करोड रुपैयाँ) पुगेको छ । मुद्रा कोषको कार्यकारी बोर्डले सन् २०२२ को जनवरी १२ मा ३७ करोड ६५ लाख अमेरिकी डलर बराबर २८ करोड २४ लाख एसडीआर लगानी गर्ने गरि चार वर्षे विस्तारित ऋण सुविधा (इसीएफ) अनुमोदन गरेको थियो।

नेपालले कार्यक्रमको कार्यान्वयनसँगै राम्रो प्रगति गरेको कोषको ठहर छ ।