नाडामा नयाँ नेतृत्वका लागि दुई घराना आमनेसामने, कसको समर्थनमा को  को छन्?


काठमाडौँ। अटोमोबाइल व्यावसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। 

आगामी पौष २१ र २२  गते हुने ४७ औं साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि चुनावी चहलपहल बढेको हो।

हालसम्म अध्यक्ष पदका लागि दुई जनाको दावेदारी देखिएको छ । गोल्छा अर्गनाइजेसनको तर्फबाट व्यवसायी आकाश गोल्छा र चौधरी ग्रुपको तर्फबाट सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरीले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको स्रोतको दाबी छ। 

“अहिलेसम्म अध्यक्षका लागि अरू कसैको दाबी प्रस्तुत नभएकाले चौधरी र गोल्छा बिचनै प्रतिस्पर्धा हुने देखिन्छ,” दुबै जनासँग निकट एक अटो व्यवसायीले भने, “चौधरी र गोल्छा आफ्नो पक्षमा माहोल बनाउन भित्रभित्रै लागिरहनु भएको छ, सम्भवतः केही दिनमै खुलेर लाग्नुहुनेछ ।” 

सम्भावित उम्मेदवारहरूले व्यावसायीहरू चुनावको तयारीका लागि प्रदेशमा दौडधूप बढाएका छन्। संस्थाको ४७ औं साधारणसभा र पदाधिकारी निर्वाचनका लागि नाडाले यसअघि नै समय तालिका सार्वजनिक गरिसकेको छ । 

नाडाको विधान अनुसार अध्यक्ष र १७ जना सदस्य पदमा निर्वाचन हुनेछ । निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन हुने प्रावधान छ।

स्रोतका अनुसार हालसम्म अध्यक्षका दुबै प्रत्याशी प्यानल नै बनाएर चुनाव लड्ने तयारी गरिरहेका छन् । चौधरी गत निर्वाचनमा पनि अध्यक्षका प्रत्याशी थिए। 

गोल्छाले पूर्व अध्यक्षहरूको समर्थनमा हालसम्म १३ जनाको प्यानल  बनाइसकेका छन् । बाँकी ७ जनाको टुङ्गो छिटै लगाउने तयारीमा रहेको स्रोतको दाबी छ। 

गाडी व्यवसायीहरूको समस्या र व्यवसाय विस्तार गर्नको लागि वि.स २०३३ सालमा नाडा अटोमोबाइल्स एसाेसिएसन स्थापना भएको थियो। 

संस्थाको विकास र विस्तारसँगै व्यावसायीको समस्यालाई सरकारका माझ स्थापित गर्नको लागि भूमिका निर्वाह खेलेको नाडामा दुई वर्षका लागि कार्यसमिति चयन गर्ने गरिन्छ । हाल ध्रुब थापाले नेतृत्व गरिरहेका छन्।

नाडामा कर्पोरेट हाउसहरूबिचमै पनि प्रतिस्पर्धा हुने गरेको छ । अर्कोतर्फ ठूला लगानीकर्ता र साना लगानीकर्ताबिच एकअर्का ‘अस्तित्वको  लडाई’को एजेण्डा पनि बन्ने गरेको छ। 

साना लगानीकर्ताले नाडालाई कर्पोरेट हाउसको मात्र लविङ गरेको आरोप  लगाउने गरेको पाइन्छ । यो पटकका अध्यक्ष ध्रुब थापा कर्पोरेट हाउस बाहिरबाट नेतृत्वमा आएका हुन्। थापालाई कर्पोरेट हाउसबाट कम सहयोग भएको चर्चा पनि नाडा भित्रै चल्ने गरेको छ।

ठूला घराना आमने सामने, कसले कसलाई सघाउलान्? 

नाडाको चुनावी मिति तय भएसँगै दुई ठुला व्यावसायिक घराना बिच चुनावी तयारी सुरू भएसँगै कुन व्यवसायीले कसलाई सघाउलान्? भन्ने विषयमा अटोमोबाईल क्षेत्रको चर्चा हुन  थालेको छ।

ठूला व्यावसायिक घराना चौधरी ग्रुप र गोल्छा ग्रुप एक आपसमा आमनेसामने हुने करीब करीब पक्का भइरहँदा हालको नेतृत्व र कार्यसमितिले कसलाई सघाउलान् भन्ने विषय पेचिलो बनेको छ। 

वर्तमान अध्यक्ष थापासँग थोरै मतान्तरले निर्वाचनमा पराजित भएका चौधरी विजयी हुन नसक्नुमा नाडाको परम्परा प्रमुख कारकका रूपमा लिने गरिएको छ। त्यसैगरी ठुला घराना र साना व्यावसायीबिचको अन्तरले पनि भूमिका खेलेको अनुमान गरिएको छ। युवा व्यवसायी भएका कारण अटोमोबाईल क्षेत्रसँग कम घुलमिल हुनु पनि चौधरीको पराजयको कारण रहेको व्यवसायीहरू बताउँछन्। 

चौधरीले आफ्नो व्यावसायिक करिअरमा विभिन्न ब्राण्डमा काम गर्नुका साथै गाडी, मोटरसाइकल, टायर, ट्याक्टर, लुब्रिकेन्ट, बाइक, स्पेयर पार्टस् लगायत अटोमोबाइल्स क्षेत्र जोडिने सबै खालका व्यवसायको अनुभव लिएका छन् । 

यीनै अनुभवका आधारमा उनले चुनावी रणनीति बनाएका हुन् । साना व्यवसायीको समस्या समाधानका लागि उनले खेल्ने भूमिका र उनीहरूको विश्वासलाई विजयी हुने आधार मान्न सकिने उनी निकट एक व्यवसायीले बताए।

हालका अध्यक्ष ध्रुब थापाले आकाश गोल्छालाई सघाउने बुझिएको छ । यसबाहेक, पूर्व अध्यक्षहरूमा निर्णायक मानिने शेखर गोल्छा र अन्जन श्रेष्ठको पनि आकाश गोल्छालाई समर्थन रहने दाबी उनी निकट स्रोतको छ। 

साइमेक्स इंक बिवाइडीबाट यमुना श्रेष्ठ पनि गोल्छा समूहबाटै चुनावमा जाने भएकी छन्। बिवाइडीकोसमर्थन पनि गोल्छालाई जाने देखिएको छ।

स्रोतका अनुसार करण चौधरीलाई टाटा मोर्टर्स (सिप्रदी) को पनि समर्थन रहनेछ भने आईएमई ग्रुप र ज्योति ग्रुपले पनि चौधरीलाई समर्थन जुटाएका छन्। 

नाडाका अध्यक्ष थापाले भने सकेसम्म सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन होस् भन्ने पक्षमा आफू रहेको बताउँदै आएका छन् । 

अघिल्लो पटकको निर्वाचनमा करण चौधरीको प्यानलबाट अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, बरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती र मिलनबाबु मल्ल, वर्ण न्यौपाने, देवराज भण्डारीहरुले निर्वाचन लडेका थिए तर यो पटक कसको प्यानलमा को आउँछ भन्ने विचारधीन विषय नै रहेको छ ।