मंसिर २८ गतेदेखि २० औं हस्तकला व्यापार मेला हुने


काठमाडौं । नेपाल हस्तकला महासंघले बर्षेनी आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको अवस्थाका कारण स्थगित मेला मंसिर २८ गते बुधबारदेखि पाँच दिनसम्म राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने जनाइएको छ ।

हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । मेला मंसिर २८ गतेदेखि पुस २ गते सम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले मेला आयोजना गर्दैै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबिचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पु¥याउने मेलाको लक्ष्य रहेको छ ।

मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले जानकारी दिएको छ। मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ । जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ ।

व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए ।

“सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,” अध्यक्ष शाक्यले भने, “मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।”

मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरु वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कूल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको दावी छ ।