मस्कको ‘साइबरट्रक’ वार्षिक तीन लाख बढी उत्पादन हुने, डेलिभरको लागि छ वर्ष कुर्नुपर्ने


काठमाडौँ । एलन मस्कको कम्पनी टेस्लाले बहुप्रतिक्षित साइबरट्रक (टेस्ला साइबरट्रक) को डेलिभरी सुरु भएसँगै विश्व बजारमा यसको चर्चा बढ्दै गएको छ ।

कम्पनीका सीईओ एलोन मस्कले हालै साइबरट्रकको बारेमा कुरा गर्दै विश्वभर विद्युतीय सवारीको माग उच्च रहेको र उक्त कुरालाई ध्यानमा राख्दै कम्पनीले हरेक वर्ष अधिकतम क्षमताको ३ लाख ७५ हजार युनिट साइबर ट्रक उत्पादन गर्ने जनाएका छन् ।

उनले नयाँ अर्डर लिने क्रेताहरूले डेलिभरीको लागि छ वर्ष कुर्नुपर्ने पनि जानकारी दिएका छन् । मस्कले भने, “कारबाट उत्पादन क्षेत्रमा देखिने क्रान्तिले जनताको मन हल्लाउनेछ । उत्पादन प्रविधिको स्तर निकै गुणस्तरीय हुनेछ ।”

उनले आजकाे दिनमा टेस्लाका प्राय गाडीहरू महँगो र आम मानिसकाे पहुँचयाेग्य नभएकाे दाबी समेत गरेका छन् ।

अमेरिकी बजारमा हाल टेस्लाका चार वटा माेडेलका इलेक्ट्रिक कारकाे बिक्री भइरहेका छन् । जसमा मोडल एस, मोडेल ३, मोडल एक्स र मोडल वाई छन् । यी मध्ये, मोडेल ३ को रियल ह्वील ड्राइभ भेरियन्ट सबैभन्दा सस्तो छ। अमेरिकामा यसको मूल्य ३८ हजार ९९० डलर रहेको छ।

त्यस्तै साइबरट्रक तीन वटा भेरियन्टमा उपलब्ध छ । रियर ह्वील ड्राइभ, अल-ह्वील ड्राइभ र साइबरबिस्ट। यो सन् २०१९ मा अनावरण गरिएको थियो। यसलाई ३९ हजार ९०० डलरमा लन्च गर्ने भनिएपनि अहिले यसको मूल्य ५९ हजार ९६२ नाघेको छ ।