नाडालाई संस्थागत रूपमा मजबुत बनाउन अध्यक्षबाट पछि हटे: राजनबाबु


काठमाडाैँ । अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी नेतृत्व चयनको लागि पुस २१ र २२ गते निर्वाचन हुदैँछ ।

निर्वाचन नजिकिएसँगै आगामी कार्यकालका लागि नाडाको नेतृत्व कसले गर्लान भन्ने चाँसो बढेको छ । अध्यक्षको लागि सुरूवाती समयमा तीन जनाको दावेदारी रहेको थियो । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ राजनबाबु श्रेष्ठ, फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा र सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी ।

बिचमा सर्वसहमतिमा जानको लागि अनेकौँ प्रयासमा हुदैँ जादाँ मुख्य दावेदारका रूपमा हेरिएका राजनबाबु श्रेष्ठ एकाएक पछि हटे । उनले निर्वाचनमा चाैधरीलाई सहयोग गरी अध्यक्ष नउठ्ने निर्णय गरे । त्यसपछि चौधरीले औपचारिक रूपमा नै अध्यक्षको लागि घोषण गरे ।

श्रेष्ठ सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी निर्देशक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका वर्तमान उपाध्यक्ष समेत हुन् । आर्थिक मन्दीका कारण अटो व्यवसाय धरासायी अवस्थाबाट गुज्रिहेका बेला अस्वस्थ्य प्रतिस्पर्धामार्फत चुनावमा जानु संस्थागत र व्यक्तिगत रूपमा लाभदायक नहुने भएकाले चाैधरीसँग सहमतीको प्रयास भएर पछि हटेको बताए ।

“मेरो पहिलाे चाहाना भनेको सहमतिमा जाने हो । त्यस माथि करण ज्यु आउनुभयो । उहाँले पनि तपाईँले मलाई अध्यक्षकाे लागि छाडिदिनु भन्ने कुरा गरेपछि म पनि संस्थालाई मजबुत बनाउनको लागि नै पछि हेटेको हो ।” श्रेष्ठले भने, “करण ज्यूले म सहमति गराएर नेतृत्व चयन गराउँछु भन्नुभयो, त्यो अनुसार उहाँ अघि बढ्नुभएको छ र अहिले पनि सहमतिको पहल भइरहेकाे छ । सहमतिको प्रयास छुटेको छैन ।”

श्रेष्ठले नाडा र समग्र अटोमोबाइल्स क्षेत्रलाई मजबुत बनाउनको लागि नै अहिलेको आवश्यकता भनेको सर्वसहमति नै उत्तम विकल्प रहेको बताउछन् ।

“अहिलेको समयमा एकजुट भएर अटोमोबाइल्स क्षेत्रलाई मजबुत बनाउन बाहेक अन्य विकल्प छैन् । त्यसले गर्दा एक्यबद्धता ल्याउनुपर्छ भनेर मैले छाडेको हो ।”, उनले भने ।

नाडाको निर्वाचन आउन करिब १९ दिन बाकीँ छ । निर्वाचन नजिकिँदै गर्दा नाडामा चुनावी सरगर्मी पनि बढ्दै छ । आकाश गोल्छा पनि अध्यक्षमा उठ्नको लागि रस्साकस्सी गरेका छन् । तर नाडा भित्र सहमतिमा नै जानको लागि निरन्तर प्रयास भैरहेको नाडा अटोमाबोइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।

यता नाडाको अगामी नेतृत्वको लागि अध्यक्षका दावेदार करण चौधरीले आफ्नो तर्फबाट सर्वसहमतको ढोका बन्द नगर्ने बताउँछन् । उनले भने, “अघिल्लो पटक पनि चुनाव हुनभन्दा अघिल्लो रात पनि हामी एकदम जुटेका हाैँ । केही कारणबस मिल्न् सकिएन । मेरो तर्फबाट सर्वसहमतिको ढोका बन्द हुदैँन । त्यो बन्द नुहने भएकाले नै मैले आफ्नो टिमको बारेमा अन्तिम निर्णय गरेको छैन् ।”