१० घण्टे त्यो मिटिङ जसले नाडाको नेतृत्वमा सहमति जुटायो


काठमाडौँ । अटो व्यवसायहरूको छाता सङ्गठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालकाे आगामी कार्यकालका लागि करण चौधरी अध्यक्ष बन्ने लगभग पक्का भएको छ ।

अघिल्लो पटक ध्रुव थापासँग चुनावमा पराजित भएका चौधरी यसपटक भने सर्वसम्मत अध्यक्ष बन्ने पक्का भएको हो ।

नाडामा प्राय सहमतिमै नेतृत्व चयन हुने गर्दछन् तर अघिल्लो पटक चुनावी प्रतिस्प्रधामा जाँदा आफ्ना प्यानलका अधिकांश सदस्य निर्वाचित हुँदा पनि उनी पराजित भएका थिए ।

यसपटक पनि निर्वाचन नजिकिएसँगै केही समय अघिसम्म आगामी कार्यकालका लागि नाडाको नेतृत्व कसले गर्लान भन्ने चासो देखिएको थियो ।

सुरुवाती समयमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा र सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी अध्यक्षका लागि दावेदार थिए ।

विस्तारै सहमतिको प्रयास गर्दै जाँदा श्रेष्ठले आकाश गोल्छालाई चुनावमा सघाउने भन्दै एकाएक पछि हटे ।

श्रेष्ठ आफ्नो सिइओको कार्यकाल सकिन २ वर्ष बाँकी रहेको र अब यो क्षेत्र छोड्ने मनस्थितिमा देखिएका कारण उनले चासो देखाएनन् ।

श्रेष्ठ पछि हटेपछि नाडा अध्यक्षको प्रतिस्पर्धामा चौधरी र गोल्छा थिए । यसका लागि दुवैले प्यानल बनाएर जाने तयारी समेत गरेका थिए तर अन्य अटो व्यवसायीहरूले भने सहमतिबाट अध्यक्ष बन्नुपर्नेमा जोड दिँदै आइरहेका थिए ।

लामो समयको प्रयासपछि आगामी कार्यकालको लागि अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा नियुक्त गर्ने सहमति भयो ।

नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले मङ्गलबार लामो समयसम्म बसेको बैठकले सहमतिबाटै नयाँ अध्यक्ष चयन हुने निर्णयमा पुगिएको बताए ।

उनका अनुसार कोभिड–१९ र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण धरासाय बनेको अटो क्षेत्रलाई चलायमान बनाउनको निम्ती सहमति जाने प्रयास गरेको हो ।

“नाडाको अध्यक्ष को बन्ने भन्ने विषयमा दशैँदेखि नै वहस चलेको थियो । त्यो भएपछि विभिन्न चरणमा हाम्रो बैठक पनि भएको हो । तर त्यो उपलब्धीमूलक पनि भएको थिएन । हिजो म, करण चौधरी र आकाश गोल्छा भएर करिब १० घन्टासम्म छलफलमा बस्यौँ । अन्तिममा एउटा निचोड निकालियो,” उनले भने ।

थापाका अनुसार अहिले भएको कार्यसमितको व्यवस्था भन्दा केही फरक बनाइने छ । योसँगै नेपाल उद्योग वाणिज्य महासंघको जस्तै वरिष्ठ उपाध्यक्ष पद पनि थपिने भएको छ ।

उनले भने, “अहिले फेरि सहमतिमा गएर अर्काे पटक चुनाव लड्नु पर्छ कि भन्ने डर भएको पनि पाइयो । त्यो भएर यसको सामाधानको लागि एउटा वरिष्ठ उपाध्यक्षको पद बनाउने त्यसपछि अर्को पटक चुनाव लड्न नपर्ने तरिकाले अघि बढेको हो ।“

अध्यक्ष थापाले आगामी तीन महिनाभित्र नाडाले विशेष अधिवेशन बोलाउने बताएका छन्,’’ उनले भने, “अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था गरिनेछ ।’’