शुक्रबार आइसिटी अवार्ड २०२३ काे फिनाले, १४ विधामा अवार्ड वितरण हुँदै


काठमाडौँ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम पुस ६ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने भएकाे छ ।

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको अवार्ड कार्यक्रमको विगत ५ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दैै ग्राण्ड फिनाले आयोजना हुन लागेको हो ।

अपग्राड आइसिटी अवार्डको २०२३ इन एसोसिएसन विथ इनड्राइभको ग्राण्ड फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्वन्धित १४ विधाहरुमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मान गरिने जनाइएकाे छ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि समावेश गरिएको छ ।

आयाेजकका अनुसार प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट ८०० बढि विशिष्ट व्यक्तिहरूको सहभागीता हुनेछ ।

आठौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेश र ३ जना विदेशबाट विज्ञ जुरी समिती गठन गरिएको थियो । विभिन्न १३ विधामा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ७०० बढिको आवेदन प्राप्त भएको आयोजक समितीले जानकारी गराएको छ ।

अवार्ड वितरण हुने विधाहरुमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड रहेका छन् ।

व्यत्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन । सस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् । साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड अन्तराष्ट्रिय अवार्ड विधाको रुपमा समावेश गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

यि सम्पुर्ण विधाहरुमा १७ जना जुरी सदस्यहरुको सहभागितामा ३ महिनाको अवधिसम्म विभिन्न चरणका छनौट प्रकृयाहरु सञ्चालन गरिएको थियो । सातै प्रदेशमा स्टार्टअप मिट, बुटक्याम्प, काठमाडौंमा स्टार्टअप एण्ड आइडिया फेस्ट, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रकृयाहरु सञ्चालन भएको आयोजकले जनाएको छ । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पुर्ण तवरबाट प्रयास भएको लम्सालले बताए ।

आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर यसले डिजिटल रुपान्तरण र इकोसिस्टमको विकासलाई टेवा पुर्याएको छ ।

हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले यस क्षेत्रमा काम गर्ने र गर्न खोजेकाहरुलाई प्रोत्साहन गरिरहेको सहभागीहरुको बुझाई छ । यस अवार्डमा प्रतिस्प्रधामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले थप लगानी र बजार बिस्तारको लागि अवसर प्राप्त गरेका छन् । अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरुसँगै ट्रफी र सम्मान प्राप्त गर्ने जनाइएकाे छ । एनसेल वुमन आइकनले ३ लाख रुपैयाको पुरस्कार पनि प्राप्त गर्नेछन् ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन एचडी, हाम्रो पात्रो, आइसिटी अवार्डको फेसबुक पेज तथा युट्युब च्यानल लगायतका माध्यमबाट प्रत्यक्ष प्रसारण समेत हुनेछ । प्रत्यक्ष सहभागी हुन चाहनेहरुले अफिसियल वेबसाइट www.ictaward.org  बाट टिकट खरिद गर्न सकिनेछ ।