धितोपत्र बोर्ड र लेखामान बोर्ड बिच सम्झौता, प्रतिवेदनमानहरुमा एकरुपता कायम गर्ने


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बिच विवरण प्रवाहमा एकरुपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदनमानहरुमा एकरुपता कायम गर्न सम्झौता भएको छ ।

धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरुपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदनमानहरुमा एकरुपता कायम गर्न लेखामान बोर्ड र धितोपत्र बोर्डबिच बुधबार सम्झौता भएको हो ।

सम्झौतामा धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका हुन् । सम्झौताको उदेश्य नेपालमा नेपाल सस्टेनबिलिटी रिर्पोटिङ स्ट्याण्र्डड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको जनाइएको छ ।

एनएसआरएसले व्यवसायिक अभ्यासहरु वातावरण र समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणिय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

इन्टरनेशनल अर्गनाइजेशन अफ सेकुरिटिज कमिशन्स (आईओस्को) ले आइएसएसबीबाट जारी भएका आइएफआरएस एसवान र आइएफआरएस एसटुलाई समर्थन गर्दै आफ्ना सदस्यहरुलाई लागू गर्न आह्वान गरेको छ । धितोपत्र बोर्ड यसको सदस्य रहेकोले लागू गर्ने प्रतिबद्धता जनाएको छ ।