काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि निर्धारण गरिएको मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।
बिहीबार काठमाडौंमा आयोजित ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था र सञ्चार सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सेवा प्रदायकले प्राधिकरणले तोकेको गुणस्तरसम्बन्धी मापदण्ड पूरा गर्नैपर्ने बताए। मापदण्ड कार्यान्वयनमा कुनै बहाना वा छुट स्वीकार्य नहुने उनको भनाइ छ।
सेवा प्रदायकले गुणस्तर सुधारका योजना बनाए पनि कार्यान्वयनमा भने अझै कमजोरी रहेको अर्यालले बताए। उनका अनुसार प्राधिकरणले प्रत्येक आर्थिक वर्ष सेवा प्रदायकसँग गुणस्तर सुधार योजना माग गर्दै आएको छ। योजनामा टावर थप्ने र फ्रिक्वेन्सीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको उनले बताए।
प्राधिकरणका अनुसार सेवा प्रदायकले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा ड्राइभ टेस्ट गरी त्यसको प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ। ड्राइभ टेस्टमा सहरी, ग्रामीण, तराई तथा दुर्गम हिमाली क्षेत्र समेटिनुपर्नेछ। देशभर एकैपटक परीक्षण गर्न सम्भव नभएकाले कम्तीमा ८०० देखि ९०० किलोमिटर क्षेत्र समेटेर सबै भौगोलिक क्षेत्रको प्रतिनिधित्व हुने गरी परीक्षण गर्नुपर्ने व्यवस्था रहेको अर्यालले जानकारी दिए।
‘गुणस्तरका लागि हामीले ड्राइभ टेस्ट गर्नुपर्ने प्रावधान बनाएका छौँ। देशैभरि एकैचोटि गर्न त सकिँदैन। कम्तीमा ८०० देखि ९०० किलोमिटरको वरपर सहरी, ग्रामीण, तराई र विकट हिमाली क्षेत्र सबै समेटिने गरी सेवा प्रदायकले आफैँ गर्नुपर्छ,’ उनले भने, ‘त्यसरी ड्राइभ टेस्ट गरेर प्राधिकरणमा रिपोर्ट गर्नुपर्ने आवश्यकता छ।’
अर्यालले सेवाग्राहीका गुनासो सम्बोधनमा पनि सेवा प्रदायकले विशेष ध्यान दिनुपर्ने बताए। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणमा ३३९ वटा डेटा सेवा र ९६ वटा मोबाइल भ्वाइस सेवासम्बन्धी गुनासो दर्ता भएको उनले जानकारी दिए।
प्राधिकरणमा प्राप्त सबै गुनासोलाई गुनासो व्यवस्थापन प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधानका लागि निर्देशन दिने गरिएको उनले बताए। सेवा सम्बन्धी समस्या भएमा सुरुमा सम्बन्धित सेवा प्रदायककहाँ गुनासो गर्नुपर्ने र त्यहाँबाट सुनुवाइ नभएपछि मात्र प्राधिकरणमा आउनुपर्ने कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारे।
सामाजिक सञ्जालमा सेवाग्राहीले व्यक्त गरेका गुनासो पनि सेवा प्रदायकका लागि महत्वपूर्ण प्रतिक्रिया भएकाले त्यसलाई समेत सम्बोधन गर्नुपर्ने अर्यालले बताए। प्राधिकरणमा औपचारिक रूपमा दर्ता नभए पनि सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आएका गुनासोलाई सेवा प्रदायकले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
प्राधिकरणले नयाँ प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै जाने अर्यालले जानकारी दिए।
‘प्राधिकरणबाट तोकिएको मापदण्डमा दायाँबायाँ गर्ने छुट छैन। त्यसमा अगाडि बढ्नैपर्छ,’ उनले सेवा प्रदायकलाई आग्रह गरे।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्