डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित


काठमाडाैँ । डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा तिलगंगालाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो । 

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधिमार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने संस्थालाई यो अवार्ड प्रदान गरिन्छ । सोही अनुसार यस वर्ष डिजिटल सर्भिसेस आइसिटी अवार्ड तिलगंगाले प्राप्त गरेको हो । 

आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको समुदायमा आधारित गैर नाफामुलक संस्था हो, तिलगंगा आँखा प्रतिष्ठान । सन् १९९४ मा स्थापना भइ विश्वभर आँखा स्वास्थ्यको क्षेत्रमा छुट्टै छाप छोड्न सफल प्रतिष्ठान पछिल्लो सूचना प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्न तल्लिन छ । 

डिजिटल सेवा प्रदान गर्न संस्थाले अहिलेसम्म ३ करोड रूपैयाँ सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गरिसकेको छ । तिलगंगाले इन्ट्रा अकुलर लेन्स उत्पादन गरी विश्वभर सस्तो मूल्यमा निर्यात गर्दै आइरहेको छ । आईएसओ र सीई सर्टिफाइड प्रतिष्ठानका सबै क्लिनिकल डेटा, सिस्टममा राखिएको छ । 

संस्थाले सेवा प्रवाहलाई डिजिटल बनाउन टेलि अप्थाल्मोलोजी, सिस्को, सोफोस, मिक्रोटिक, निम्बर एचआरआईएस, नेक्स्ट टेक ईएमआर, डाफे ईएमआई, माइक्रोसफ्ट अफिस ३६५ जस्ता प्रविधि प्रयोग गरिरहेको छ । 

यस बाहेक तिलगंगाले अपोइन्ट म्यानेजमेन्ट सिस्टम, एआईमा आधारित अपोइन्टमेन्ट बुकिङ तथा जनरल इनक्वाइरी ह्यान्डलिङ, क्यु म्यानेजमेन्ट सिस्टम, वेबमा आधारित अपोइन्टमेन्ट सिस्टम, आई डोनेसन अनलाइन फारमका लागि आवश्यक पर्ने सफ्टवेयर प्रयोग गर्दै आएको छ ।