सर्वोच्च अदालतको आदेशपछि पुन:काममा फर्किए स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला


काठमाडौँ । सर्वोच्च अदालतले निलम्बनको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएपछि स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला जिम्मेवारीमा फर्किएका छन् ।

डा. बसौलाले आज बोर्डको कार्यालय बबरमहल,काठमाडौँमा पुगेर जिम्मेवारी सम्हालेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषद बैठकले असोज २४ गते बसौलालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

बसौलाले सर्वोच्चले आफूलाई न्याय दिएको बताए । जिम्मेवारीमा पुन : फर्केपछि कार्यकारी निर्देशक बसौलाले आफ्नो निलम्बनले काम प्रभावित भएको बताए ।

उनले भने,“कतिपय काम भइरहेका थिए निलम्बनले प्रभावित भएको र अब फेरि सुरु हुन्छ” । उनले बिमालाई प्रभावकारी बनाउन थप प्रयास गर्ने बताए ।