लुम्बिनी प्रदेश मन्त्रिपरिषद विस्तार,कांग्रेस र माओवादी केन्द्रका दुई मन्त्री थपिए


भालुबाङ । लुम्बिनीमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट १/१ जना मन्त्री थपिएका छन् ।

झण्डै ८ महिनाको उल्झनपछि मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।

नेकपा माओवादी केन्द्रले मन्त्रालय विस्तार गरेर भए पनि रोल्पाका सांसद दिपेन्द्रकुमार पुनलाई मन्त्री बनाउन चाहेको थियो तर नेपाली कांग्रेस लुम्बिनी प्रदेशको असहमतिका कारण दुबै तर्फबाट अन्य १/१ मन्त्री थपिएका हुन् ।

चौधरीले नेपाली कांग्रेसबाट संस्थापन पक्षका सरोज थापा र नेकपा माओवादी केन्द्रकी कृष्णा केसी मन्त्री बनेका हुन् ।

बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय र थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशमा यसअघि गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले मुख्यमन्त्री र एउटा मन्त्रालय, माओवादी केन्द्रले १, लोकतान्त्रिक समाजवादी पार्टीले १, जनमत पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १ मन्त्रालय लिए थिए । अब एउटा मन्त्रालय बाँकी रहेको छ ।

मुख्यमन्त्री चौधरीले कांग्रेसका संस्थापन इतरको पक्षलाई मन्त्रालय बाँकी राखेर मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।

संस्थापन इतर पक्षले भने मन्त्री नपठाउने देखिएको छ । दुईवटा मन्त्रालय दाबी गरेको कांग्रेस संस्थापन इतर पक्षले एक मात्रै मन्त्रालय हुने भएपछि सरकारमा सहभागि नहुने निष्कर्षमा पुगेको स्रोतले दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रले ३ वटा मन्त्रालय दाबी गरिरहेको थियो । मन्त्रालय बढाएर भए पनि मन्त्रीको सङ्ख्या थप्नका लागि अन्तिम पटक नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको थियो ।

छलफलका क्रममा सभापति पुनले मन्त्रालयको सङ्ख्या बढाउन नहुने र केन्द्रबाट हस्तक्षेप भए परिणाम राम्रो नहुने चेतावनी दिएका थिए । दुबै नेताबिचको छलफल समेत निष्कर्षमा नपुगेपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा मन्त्री पठाएको हो ।