चालू आर्थिक वर्ष पनि नेपालको आर्थिक वृद्धिदर खुम्चिने संकेत


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ मा पनि नेपालको आर्थिक वृद्धिदर खुम्चिने भएको छ। गत आर्थिक वर्षको अन्तिम त्रैमासिकको तुलनामा औद्योगिक उत्पादन सूचकांक (एमपीआई) संकुचित भएसँगै यसले आर्थिक वृद्धिदरमा प्रभाव पार्ने भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालय (रातका) ले तयार पारेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक औद्योगिक उत्पादन सूचकांक (एमपीआई) गत आवको अन्तिम त्रैमासिकका तुलनामा २.१६ प्रतिशतले संकुचित भएको छ ।

वार्षिक तुलना अर्थात अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकसँग चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा गत वर्ष (२०७९/८०) को सोही त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो त्रैमासिकमा उत्पादनमूलक उत्पादनको समग्र सूचकांक करिब १.४७ प्रतिशतले बढेको छ, जबकी स्वस्थ्य आर्थिक वृदिधदरका लागि ५ प्रतिशतभन्दा माथिकै एमपीआई वृद्धिदर हुनु पर्ने तथ्यांक अधिकारीहरू बताउँछन् ।

रातकाले गरेको विश्लेषणअनुसार सबैभन्दा ठूलो संकुचन निर्माणसँग सम्बन्धित उद्योगहरूको उत्पादनमा देखिएको छ ।

निर्माण उद्योगको प्रमुख अवयब सिमेन्ट उद्योगको उत्पादन सूचकांक गत आवको अन्तिम चौमासिकको तुलनामा ११.१६ प्रतिशतले संकुचित भएको छ भने फलामे छडको उत्पादन ५.३० प्रतिशतले संकुचित भएको छ ।

यस्तै, विद्युतीय तार (वायरिङ वायर)को उत्पादन ७.१० प्रतिशतले, प्लाटिकका पाइप र फिटिङ्ग ९.५७ प्रतिशतले, रङ (पेन्टस)को उत्पादन ७.७६ प्रतिशतले, प्लाइउडको उत्पादन ६.५३ प्रतिशतले, कंक्रिटको उत्पादन ९.५३ प्रतिशतले संकुचित भएको छ ।

“निर्माण क्षेत्रसँग सम्बन्धित प्रायः सबै उद्योगको उत्पादन सूचकांक संकुचित भएको छ, यसले निर्माण क्षेत्रमा सुस्तता आएको देखाउँछ,” राष्ट्रिय तथ्यांक कार्यालयका एक अधिकारी भन्छन्, “यी सूचकांकहरले पहिलो त्रैमासिक अवधिमा पनि आर्थिक वृद्धिदर संकुचित भएको देखाएका छन् ।”
निर्माण क्षेत्र संकुचित हुँदा त्यसले समग्र आर्थिक गतिविधिलाई नै मन्दीमा लगेको देखिएको छ । निजी निर्माण गतिविधि मात्र नभएर पूर्वाधारसँग जोडिएका निर्माण गतिविधि पनि यतिबेला लगभग ठप्प जस्तै छ । रातकाका अनुसार फलामबाट बन्ने पुल, टावरजस्ता उत्पादन लगभग ४ प्रतिशतले संकुचित भएको छ ।

सरकारले गत आर्थिक वर्षकै निर्माणजन्य कार्यको भुक्तानी दिन नसकेकाले यो वर्ष निर्माणसँग सम्बन्धित गतिविधिमा असर परेको निर्माण व्यवसायीहरू बताउँछन् ।