एनसीएचएल र नेप्सबिच मर्जर गर्ने सम्झौता


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)बिच मर्जरको सम्झौता भएको छ ।

एनसीएचएलको १५औं वार्षिकोत्सवको अवसरमा एनसीएचएल र नेप्सबिच मर्जर तथा प्राप्तिको लागि सम्झौता भएको हो ।

मर्जर तथा प्राप्ति समितिमा एनसीएचएलकोतर्फबाट संयोजक महेश शर्मा ढकाल र नेप्सकोतर्फबाट संयोजक सञ्जीवकुमार श्रेष्ठबिच समझदारी पत्र आदानप्रदान भएको हो।

एनसीएचएल र नेप्सले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरेका छन् । यी दुई कम्पनी बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धनमा काम गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले लिएको गाभ्नेरगाभिने वा प्राप्तिसँग सम्बन्धी नीति कार्यान्वयनलाई सफल पार्न एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुनेगरी अगाडि बढ्नु उपयुक्त मानिएको कम्पनीले जनाएको छ ।

नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । एनसीएचएलका प्रणालीहरूबाट रकमको आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रा नन(क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।

नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाका १६ सयभन्दा बढी एटीएम, नौ हजारभन्दा बढी पोसमार्फत सेवा प्रदान गर्ने र ईकमर्स कारोबारका लागि एसीएस थ्रीडी सेक्युअर लगायतका सेवा उपलब्ध छ भने एनसीएचएलको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर(बैंकिङ संस्थाहरू छन् ।