बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री डा. महत


चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।

मंगलबार १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने,“३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।”

अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्ने भनेर निरन्तर पहल गरिरहेको उनले बताए । उनले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने, लगानी वृद्धि गर्ने भविष्य सुनिश्चित रहेकोले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्नुनपर्ने उल्लेख गरे ।

कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएको बताए । चितवनका आदिवासी थारुहरुको जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले संसारभरिका पर्यटकका लागि वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा आकर्षण बनेको बताएका छन् ।

उनले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गरिरहेका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले त्यहाँको विकासमा खेलेको यस ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएकै र ०४६ पछि चितवनले विकासको फड्को मारेको बताए।

यसैमा खुशी हुने अवस्था नरहेको बताउँदै उनले भने,“‘हाम्रा आवश्यकताहरु परिवर्तित हुँदै छन् । सँगसँगै महत्वकोक्षा वृद्धि हुँदैछ । परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाहरु अनुरुप हामीले डेलिभरी दिनुपर्ने छ ।”

अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक गएको, अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटक पनि बढेकोले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुने मन्त्री डा. महतले अपेक्षा राखेका छन् ।

उनले भने,“शेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।”

Skip This