नेपाल–श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित


काठमाडौं। नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

साधारणसभाबाट राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्य तथा विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ। प्रदीप लाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा चंकी छेत्री र सुदेश उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमिति सदस्यमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाटलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान तथा लगानीका अवसर पहिचान गर्न संस्थागत संयन्त्र विकास गर्नुपर्ने बताइन्। व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न श्रीलंका दूतावासले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने ‘एक्स्पो २०२७’ मा नेपाली व्यवसायीलाई सहभागी हुन आग्रह गर्दै ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्।

श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्।

सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो। आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाटमार्फत दुई देशबीचको सम्बन्धलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उनले बताइन्।

चेम्बरका मानार्थ सदस्य डा. राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत सञ्जाललाई प्रभावकारी बनाउनुपर्ने बताए।

नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको उनले बताए।

नेपाल–श्रीलंका चेम्बर, नेपाल चेम्बर अफ कमर्स, जिल्ला तथा वस्तुगत चेम्बर, व्यवसायिक संघसंस्था र निजी क्षेत्रबीच समन्वय बढाएर व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बजार सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

चेम्बरका निवर्तमान अध्यक्ष विजयबहादुर श्रेष्ठले नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए। विभिन्न समझदारी तथा व्यापारिक संवाद हुँदै आए पनि द्विपक्षीय व्यापार अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै उनले व्यापार विस्तारका लागि ठूलो सम्भावना रहेको बताए।

श्रीलंका नेपाली पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन, व्यावसायिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।

साधारणसभाका अवसरमा नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्न सम्मान प्रदान गरिएको थियो। राजेश काजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अनर’, जय देवानलाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ तथा चंकी छेत्रीलाई ‘बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो।

साधारणसभाले नेपाल र श्रीलंकाबीच जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने सम्भावनाका साथै बौद्ध धार्मिक पर्यटन, संयुक्त पर्यटन प्याकेज तथा सम्पर्क सञ्जाल सुधारमा सहकार्य अघि बढाउने विषयमा जोड दिएको छ।