ललितपुर घटनामा मृत्यु भएकाका परिवारलाई दश/दश लाख रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णय


काठमाडाैँ । सरकारले ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई दश/ दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुबै जनाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै घाइते भएका व्यक्तिहरूको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय समेत गरेको छ ।

मृतकका परिवारलाई उपलब्ध गराउने रकम र घाइतेको उपचारका लागि आवश्यक रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरेको हो ।

बैठकले उक्त घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने निर्णय गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले भनेको छ,“ आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई अपील गर्दछ ।”

सरकारले घटनास्थलमा गोलि हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरि छानबिनको प्रक्रिया अगाडि बढाएको छ ।