सकियो आठौँ रियल इस्टेट एक्स्पो, चार दिने मेलामा तीन अर्बको कारोबार, व्यवसायमा थपियो उत्साह


काठमाडौँ । तीन अर्बको कारोबार गर्दै सकियो आठौँ  रियल इस्टेट एक्स्पो सम्पन्न भएको छ । गत पुस पौष १२ देखि सुरू भएको एक्स्पो आइतवार (१५ गते ) सम्पन्न भएको हो ।

मेला अवधिभरमा घरजग्गा तथा अपार्टमेण्ट खरिद र बिक्रिमा संलग्न सरोकारवालाहरु थप उत्साहित भएको पाइएको आयोजकले जनाएका छन्। मेलामा अवलोकनकर्ताले मूल्य प्रतिस्पर्धा मार्फत् उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु खरिद बिक्रि सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गरेका थिए ।

मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले गरेकी थिइन् भने मेलाको समापन समारोह राजेन्द्र मल्लकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हा।  

समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले देशको अर्थतन्त्र संकुचनमा रहेकोले यसले घरजग्गा व्यवसायलाई पनि प्रभावित पारेको र हालका दिनहरुमा देशको अर्थतन्त्रमा क्रमिक सुधारका संकेत समेत देखा परेको बताए। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण घरजग्गा व्यवसाय लगायत सम्पूर्ण उद्योग व्यवसायमा नकारात्मक असर परेको धारणा राखे।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले यस घरजग्गा मेलाका प्रवर्धकको नाताले मेलालाई भव्य एवं सभ्य तरिकाले सफल बनाउन साथ र सहयोग दिनुहुने सहभागीहरु लगायत सबैलाई धन्यवाद दिए। 

आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलाका सहभागी तथा अवलोकनकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै मेलामा घर जग्गा व्यवसायी एवं प्रदर्शनकर्ताहरुको अत्याधिक सहभागिता र अवलोकनकर्ताहरुको उल्लेख्य र उत्साहजनक उपस्थिति रहेको जानकारी गराए।

एक्स्पोमा साना ठूला गरी ६० भन्दा बढी स्टलहरु राखी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गरेका थिए भने करीब चालिस हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका थिए । 

मेलामा घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन तथा बैंकिङ्ग जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना  उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत प्राप्त गरेका थिए ।