मधेश प्रदेश: उद्योगहरुको क्षमता उपयोग घट्यो


काठमाडाैँ । आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशमा उद्योगहरूको क्षमता उपयोग भटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०७९/८० को मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार उद्योगहरुको क्षमता उपयोग आर्थिक वर्ष २०७९/८० मा औषतमा ५४.२५ प्रतिशत रहेको छ । आर्थिक आर्थिक वर्ष २०७८ ७९ मा यो क्षमता औषतमा ६१.५२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको अध्ययन अनुसार सुर्तीजन्य वस्तु उद्योगले सबैभन्दा बढी ९१.०५ प्रतिशत र छाला र छालाको समान उद्योगले सबैभन्दा कम १०.२३ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ । गत वर्षको सोही वर्षमा फेब्रिकेटेड धातुको समान उद्योगले सबैभन्दा बढी ९४.७२ प्रतिशत र कागज उद्योगले सबैभन्दा कम १०.७९ प्रतिशत क्षमता उपयोग गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी क्षमता उपयोग गर्ने ५ वटा उद्योगहरुमा सुर्तीजन्य वस्तु, पेय पदार्थ, लत्ता कपडा, अन्न तथा पशुदाना, र धातुका उपकरण उत्पादन गर्ने उद्योगहरु रहेका छन् । जसकोक्षमता उपयोग क्रमशः ९३.४२ प्रतिशत, ९१.९४ प्रतिशत, ८६.६६ प्रतिशत, ८६.४६ प्रतिशत र ७१.२० प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी क्षमता उपयोग गर्ने ५ वटा उद्योगहरुमा लत्ता कपडा, पेय पदार्थ, फेब्रिकेटेड धातुका सामान, अन्न तथा पशु दाना र प्लाष्टिक जन्य उत्पादन गर्ने उद्योगहरु रहेका थिए ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा लत्ता कपडा, वनस्पती घिउ तथा तेल र अन्य खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा क्रमशः १४.७६, २२.३१ र २८.३५ प्रतिशतले ह्रास आएको छ भने बाँकी अन्य उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी क्षमता उपयोगमा वृद्धि गर्ने ५ वटा उद्योगहरुमा सुर्तीजन्य वस्तु, छाला तथा छालाको सामान, अन्न तथा पशु दाना, धातुका उपकरण र पेय पदार्थ उत्पादन गर्ने उद्योगहरु रहेका छन् जसले क्रमशः ३८.७४, ३६.५२, ३२.११, २७.९० र २१.६५ प्रतिशतले क्षमता उपयोगमा वृद्धि गरेका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्घि भएर १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९ ८० मा यस्तोकर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा वर्षमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१.०८ प्रतिशत र सबै भन्दा कम सप्तरी जिल्लामा २.३४ प्रतिशत रहेको छ । मधेश प्रदेशमा सब भन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको राष्ट्र बैंकको अध्ययनले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा मध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ५ प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ २ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ १ प्रतिशत कर्जा प्रवाह भएको छ ।