‘देशमा आर्थिक मन्दी हुँदा डेरी क्षेत्र समस्यामा पर्नु स्वभाविक हाे’


काठमाडौँ । बागमती प्रदेशकी उपसभामुख अपसरा चापागाईंले पछिल्लो समय देशमा आर्थिक मन्दी भएको बेला डेरी क्षेत्र समस्यामा पर्नु स्वभाविक रहेको बताएकी छन् ।

काठमाडाैँमा भएकाे बागमती प्रदेशकाे साधारण सभा कार्यक्रममा बाेल्दै उनले देशभर आर्थिक मन्दीले विभिन्न व्यवसाय धरासायी बन्दै गएको बेला डेरी क्षेत्र आत्मनिर्भरकाे बाटाेमा रहनु खुशीकाे विषय रहेकाे बताएइन् ।

उनले किसानबाट उत्पादित दूधलाई बजारीकरण गर्न सहकारी संस्थाको मुख्य भूमिका रहने भएकाले स्थानीय दुग्ध उत्पादन सहकारीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “यसका लागि सरकारले आवश्यक सहयोग प्रदान गर्नुपर्ने देखिन्छ । यसबाट दुग्ध सङ्कलनमा बिचौलियाहरूको प्रभावबाट किसानहरूलाई मुक्त गर्न सकिन्छ । साथै दूधको गुणस्तर कायम गर्न पनि सकिन्छ ।’’

नेपाल डेरी एसाेसिएसनका अध्यक्ष प्रह्लाद दाहालले वर्तमान समयमा डेरी क्षेत्र इतिहासकै कठिन मोडबाट गुज्रिएको बताउँदै सरकारले सहयोग गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले पछिल्लो एसाेसिएसनले नेपाललाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि विगतबाट नै भूमिका खेल्दै आएको र आजको दिनमा बंगलादेशलाई धुलो दुध निर्यात गर्न कार्यक्रम अन्तिम चरणमा रहेको बताए ।

उनले भने, “बंगलादेशमा धुलो दुध निर्यात गर्नको लागि हामीले विगतबाट नै पहल गरेका थियौँ । त्यसको लागि अन्तिम चरणको काम भएको छ । त्यस्तै विस्तारै हामीले श्रीलंकामा पनि धुलो दुध निर्यात गर्नको लागि पहल गरेका छौँ । छिट्टै सफल हुन्छौँ ।”

उनले खुल्ला सिमानाका कारण भएकाे अवैद्य आयातले नेपाली उत्पादनले बजार पाउन समेत समस्या भएकाे बताए । उनले यस्तो आयातलाई सरकारले तत्काल रोकेर नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले भने, “हाम्रो दुध नबिक्दा किसानहरूको दुध स्टकमा हुने र उनीहरूले आफ्नो लागत नपाउने समस्या रहदैँ आएकाे छ । त्यसले गर्दा त्यस्तो आयातलाई रोक्नको लागि सरकारले पहल गर्नुपर्छ ।”

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले डेरी क्षेत्रमा समस्या आउँदा किसान, सहकारी, उद्योग र उपभोक्ता सम्मलाई समस्या हुने बताएका छन् । यादवले जबसम्म देशका किसानले दुधकाे बजार पाउँदैनन् तबसम्म डेरी उद्योगहरू पनि धरासायी बन्दै जाने बताए ।

उनले विगत दुई वर्षमा देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने काममा लागेको बताउँदै आउँदो दुई वर्ष पूरा रूपमा देशलाई आत्मनिर्भर बनाउने समेत दाबी गरे ।

नेपाल डेरि उद्योग एसोसिएसन पूर्व अध्यक्ष सुमित केडियाले डेरि एसाेसिएसनले विभिन्न समयमा धेरै समस्याहरू सामना गर्दै अघि बढेको बताएका छन् ।

उनले डेरी क्षेत्रमा प्राप्त बजेट नहुँदा कयौँ किसानको समस्याहरू समाधान गर्न नसकेको बताउँदै अगामी दिनमा आफूहरू थप सशक्त रूपमा अघि बढ्ने समेत बताए ।