एक वर्षमा विदेशिए १६ लाख नेपाली, यूएई जानेको संख्या सबैभन्दा धेरै


काठमाडौं । पछिल्लो एक वर्षमा १६ लाख बढि नेपाली विदेशिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन २०२३ मा १६ लाख ३ हजार ८ सय ३६ जना नेपाली विदेशिएका हुन् ।

जसमध्ये ११ लाख ७१ हजार १ सय ८६ जना पुरुष रहेका छन् भने ४ लाख ३२ हजार ५ सय ८४ जना महिला रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकका अनुसार सबैभन्दा धेरै नेपाली रोजगारीको शिलशिलामा विदेशिएका छन् । पछिल्लो एक वर्षमा ८ लाख ८ हजार ४ सय १५ जना नेपाली रोजगारको लागि विदेश गएका छन् । जसमध्ये ७ लाख २३ हजार ७ सय ८९ जना पुरुष रहेका छन् भने ८४ हजार ६ सय ४ जना महिला रहेका छन् ।

त्यस्तै विभिन्न मुलुकमा अध्ययनको लागि १ लाख ८ हजार ५ सय ४२ विद्यार्थी विदेशिएको विभागले जनाएको छ ।

विभागका अनुसार सन् २०२३ मा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ०८८ जना गएका छन् । त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन् ।