टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो


काठमाडौँ । नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । आज (बुधवार)देखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल शुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको हो । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्ने जनायएको छ ।

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्वमा भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रुपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।”

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी उल्लेख गरिएको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना बार्षिक कार्यक्रममै राखेको जानकारी दिंदै मन्त्री शर्माले यो कामलाई शीघ्र रुपमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, “एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।”

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमूना सेवा पुर्याउने जिल्लाको रुपमा अभियान थालिएको जानकारी दिइन् ।

रुकुम रोल्पा नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने अग्रणी जिल्ला भएको उल्लेख गर्दै उनले हिजो जनताले बलिदान गरेर आजको राजनीतिक उपलब्धि प्राप्त भएकाले अब त्यस क्षेत्रका जनताको सेवालाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।

“राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्याएर मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रुपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ,” मन्त्री शर्माले भनिन्, “यसबाट त्यसको क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।”

Skip This